सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विर्तामोड तनावग्रस्त, २ जनाको मृत्यु, कफ्र्यु जारी

स्थानीय ११ बर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्युको बिषयलाई लिएर भएको आन्दोलनले उग्ररुप लिँदा प्रहरीले चलाएको गोली लागी बिर्तामोडमा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुने एकजना अर्जुनधारा ११ का नरेश थापा भएको बताईएको छ भने अर्का एकजनाको पुष्टि हुन बाँकी छ ।

अहिले बिर्तामोड तनावग्रस्त छ । प्रहरीसँगको झण्डपमा परी घाइते भएका ७ जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

स्थानीयमाथि प्रहरीले १४ राउण्ड गोली चलाएको बताइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेपछी अवस्था तनावग्रस्त बन्न पुगेको हो । अहिले बिर्तामोड क्षेत्रमा कफ्र्यू लागेको छ । स्थानीय प्रशासनले कफ्र्यू आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।

बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्द चोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

प्रदर्शनकारीको आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । विर्तामोडका डीएसपी राजकुमार सिलवालले भने–‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कफ्र्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्