सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मंसिर १५ देखी पेट्रोल ढुवानी ठप्प पार्ने चेतावनी

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मनोमानी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको बताउँदै ट्यांकर व्यवसायीले पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आइतबार आपूर्ति मन्त्रालय र निगमलाई मागपत्र पेश गर्दै निर्णय खारेज नभए १५ मंसिरदेखि ढुवानी ठप्प पार्ने बताएका हुन् ।

निगमले ८ पुस ०७३ मा नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेको थियो । जेठ ०७४ सम्ममा करिब दुई सय वटा नयाँ ट्यांकरले अनुमति दिएको सूचना आफूहरुलाई प्राप्त भएको महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताएका छन ।

निगमबाट स्वीकृति पाएर कतिपय ट्यांकर सञ्चालनमा समेत रहेको महासंघको दाबी छ । खारेज गरिएका ट्यांकरसमेत सञ्चालनमा आएकाले तिनको तथा नयाँ स्वीकृति पनि खारेज गरिनुपर्ने महासंघको माग छ ।

यस्तै, ढुवानी नियमावलीको पूर्ण कार्यान्वयनमा महासंघले जोड दिएको छ । निगमले बिनासूचना मनमौजी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको निरौलाले बताए । हाल नेपालमा १८ सय ट्यांकरमार्फत् इन्धन ढुवानी हुँदै आएको छ ।

यसअघि सोही विषयलाई लिएर अख्तियारमा पनि उजुरी परेको थियो । आयोगले नियमावली बनाएर कानुनसम्मत अनुमति दिन निगमलाई निर्देशन दिएको थियो ।

नयाँ ट्यांकरको सञ्चालन अनुमति दिँदा सार्वजनिक सूचना जारी गरेर आवश्यकताका आधारमा मात्र स्वीकृति दिन अख्तियारले निगमलाई निर्देशन दिएको थियो ।

निगम आफैंले बनाएको नियमावली कुल्चेर अनुमति दिएको आरोप महासंघको छ । निगमका कार्यकारी निर्देशक खड्काले भने नयाँ ट्यांकरको अनुमति नदिइएको दाबी गरेका छन । आपूर्ति मन्त्रालयले भने पछिल्लो पाँच वर्षमा दिइएको ट्यांकर ढुवानीको कागजात उपलब्ध गराउन निगमलाई निर्देशन दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्