सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुल्मी र उदयपुरमा गाडी पल्टिँदा १८ जनाको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका दुई छुटाछुट्टै सडक दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । गुल्मीमा भएको माईक्रो बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने उदयपुरमा भएको सुमो जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि ९ पुगेको छ ।

बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको माइक्रो बा४ख ५५०१ नम्बरको माईक्रो बस सोमबार बिहान गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागी तानसेन पठाईएको छ ।

बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेको माईक्रोले बिच बाटोमा अरु यात्रु पनि हालेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा तीन जना महिला र ६ जना पुरुष रहेका छन् ।

सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भीम घर्ति, गुल्मी अर्जैका लालबहादुर मुखिया रहेका छन् ।

गाडीका चालकको उपचारका लागी पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना रहेका थिए ।

दुर्घटनामा परेको गाडी सड्कबाट करीव ४ सय मिटर तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका बताईएको छ । साइडदिने बलेरो जीप सड्कको नालीमा रहेको छ ।

यस्तै उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको ठाँटीभञ्ज्याङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार दुर्घटनामा परेको सुमो जिप भीरबाट ३ सय मिटर तल खसेको बताईएको छ । घाईते हुने ३ जनामा एक जना चालक, एक जना महिला र बालक रहेका छन् ।

मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन । प्रहरी टोली र स्थानीय बासीन्दा अहिले उद्धारमा खटिएका छन । दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको उदयपुर प्रहरीले जनाएको छ ।

कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्