प्रियंकाको हत्या कि आत्महत्या ? शंकाको घेरामा
सिराहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिएर आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ ।
विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विवरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए ।
आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । हिरासत अनुगमन पछि आयोगका अधिकृत दिप यादवले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत उनले बयान दिन अस्वीकार गरेका छन ।
उनले मानवअधिकार अधिकृत दिप यादव समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान राखेका छन । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे संचार माध्यमलाई समेत जानकारी गराउन अस्वीकार गरेका छन ।
पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो समेत देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो ।
जिल्ला अदालत सिराहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्राचार्यले बयस्क थुनुवासंगै राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो ।
बालिकाले आत्महत्या गरेको भनिएको इलाका प्रहरी कार्यालय विष्णुपरको महिला हिरासत कोठामा लुकाएर राखिएको अवस्थामा खैनीको प्याकेट र चुरोट फेला परेको छ । महिला राख्ने हिरासतमा पर्खालमा टाँसिएको भगवानको पोस्टर भित्र खैनीको प्याकेट र चुरोट पाइएको हो ।
आत्महत्या गरेको भनिएकी १६ काशोरी प्रियंका यादव र विष्णुपुर हिरासतमा रहेका १४ बर्षिय बालक संजय यादव यौन सम्बन्ध लुकाउन प्रियंकाका ठुलोबुवाको छोरा भवेश यादवको हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीका अनुसार गाउँमा भैँसी चराउन गएका बेला हत्या गरेका भनिएका भवेशले आत्महत्या गरेकी प्रियंका र हिरासतमा रहेका संजयले यौन सम्बन्ध राखेको देखेका थिए । भवेशले यौन सम्बन्धको बारेमा गाउँमा भनिदिने भनेपछी उनको हत्या गरिएको प्रहरी अनुसन्धानले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्