बालकृष्णको पक्राउबारे आयो विप्लवको विज्ञप्ती
माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल द्वन्द्धकालिन मुद्दामा पक्राउ परी जेल चलान भएपछी विप्लव नेतृत्वको नेकपाले उनको विनासर्त रिहा र मुद्दा खारेजीको माग गरेको छ ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेल कोच्ने कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले पनि ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन–“द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।”
निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताएकी छिन् । प्रहरीको सिआइबीले ढुंगेललाई मंगलबार सातदोबाटोस्थित उनको डेरा बाहीरबाट पक्राउ गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्