सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आणविक विकिरण अनुगमन गर्न मेसिन जडान

मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ ।

एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान, बङ्गलादेशले आणविक भट्टी सञ्चालनमा वार्षिक ठूलो लगानी गरिरहेका बेला नेपालले भने आफ्नो वायुमण्डलमा आणविक विकिरण रहे वा नरहेको अध्ययन गर्न पहिलोपटक यो प्रयास थालेको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत आणविक विकिरण अनुगमन नेटवर्क स्थापना गरी सरकारले आउँदो तीन महिनाभित्र विभिन्न सातवटा स्थानमा आणविक विकिरण अध्ययन यन्त्र जडान गर्ने भएको हो ।

यो कार्यका लागि सरकारलाई इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले यन्त्र उपकरण र नेपाली प्राविधिकलाई दक्ष बनाउने तालिम दिने भएको छ । विभागका महानिर्देशक डा.ऋषिराम शर्माका अनुसार दक्षिणी, पूर्वी र पश्चिमी सिमाना नजिक ती यन्त्र स्थापना गरिनेछन् ।

स्थान छनोटका लागि विज्ञहरूसँग छलफल गरी टुङ्गोमा पुगिने पनि महानिर्देशक शर्माले बताएका छन । सम्भवतः काठमाण्डौ र पोखराबाहेक पूर्वी पहाडको ताप्लेजुङ, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा यस्तो मेसिन राखिनेछ ।

आणविक विकासमा धेरै प्रगति गरेका चीन र भारतका बीचमा नेपाल रहनुले जुनसुकै बेला पनि आणविक विकिरण फैलिनसक्ने खतराका कारण सरकारले विकिरणसम्बन्धी अनुगमन गर्न यो योजना थालनी गरेको हो ।

आणविक भट्टीमा आगलागी, विस्फोटन तथा आक्रमण हुँदा भट्टीका विकिरण हावाबाट फैलिन सक्ने, नेपालभित्रै रहेको युरेनियमका खानी पनि पहिरो, बाटोघाटो निर्माण तथा भूकम्पले फुट्नसक्ने, हावाले फैलाउनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न यस्तो अनुगमन गर्नु परेको विभागका महानिर्देशक डा. शर्माले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्