स्पेनमा संघियताको संकट, क्याटलान मन्त्री थुनामा
स्पेनबाट क्याटालोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन् ।
स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ । स्पेनी न्यायाधीश कारमेन लामेलाले ती मन्त्रीहरुले देश छोड्न वा प्रमाणहरु नष्ट गर्नसक्ने भन्दै उनीहरुलाई थुनामा राख्न आदेश दिएका थिए ।
अभियोजनकर्ताहरुले उनीहरुमाथि स्पेनबाट क्याटलोनिया छुट्याउने प्रयास गरेर देशद्रोह गरेको आरोप लगाएका छन् । स्पेनबाट स्वतन्त्र हुनका लागि गत अक्टोबर १ मा भएको जनमत संग्रह यता स्पेन संवैधानिक संकटबाट गुज्रिरहेको छ ।
उक्त जनमत संग्रहलाई त्यहाँको संवैधानिक अदालतले गैरकानुनी भनेको थियो । गत साता स्पेनका प्रधानमन्त्री मारिआनो रखोइले क्याटलोनियाको क्षेत्रीय संसद विघटन गरेर त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए ।
उनले डिसेम्बर २१ तारिखमा त्यहाँ स्थानीय निर्वाचनको आह्वान समेत गरेका छन । क्याटलान सांसदहरुले उत्तर पूर्वको सम्पन्न क्षेत्र क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने पक्षमा मतदान गरेपछि प्रधानमन्त्री राखोयले यस्तो घोषणा गरेका थिए ।
बिहीबार बार्सिलोनास्थित क्याटलोनियाको क्षेत्रीय संसद भवनबाहिर हजारौं मानिसहरु भेला भएका छन । ती मध्ये थुप्रैले क्याटलान झण्डा र ‘राजनीतिक बन्दीहरुका लागि स्वतन्त्रता’ भन्ने नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।
त्यस्तै खालको प्रदर्शनहरु क्याटलोनियाको सहरहरुमा पनि भएका छन् । त्यहाँका राजनीतिक पार्टी र नागरिक समूहहरुले पनि अदालतको कदमको निन्दा गरेका छन् ।
यसैबीच, बेल्जियमबाट दिएको भिडियो सन्देशमा बर्खास्त गरिएका क्याटलान नेता कारलस पुज्डमोनले ती क्षेत्रीय मन्त्रीहरुको रिहाइका लागि आह्वान गर्दै भने, “क्याटलोनियाको बैधानिक राष्ट्रपतिको हैसियतले म आफ्नो मन्त्रिपरिषदका सबै सदस्यहरुको रिहाइको माग गर्दर्छु । म सबै राजनीतिक उपायहरुको सम्मान गर्न र राजनीतिक दमनको अन्त्य गर्न पनि माग गर्छु ।”
पुज्डमोनको गिरफ्तारीका लागि युरोपेली पक्राउ पूर्जी अझै जारी गरिएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्