सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तीन प्रेमीको हत्या गर्ने जापानी महिलालाई मृत्युदण्ड

जापानकी एक ७० वर्षीया महिलालाई आफ्नो श्रीमानसहित तीन पुरुषको हत्या र अर्का एक जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ ।

चिसाको काकेही नाम गरेकी ति जापानी महिलामाथि इन्सुरेन्सबापतको लाखौँ रकम हत्याउन साइनाइड नामक विषको प्रयोग गरेर आफ्ना प्रेमीहरुको हत्या गर्ने गरेको आरोप लागेको छ । उनका वकिलहरुले सजायविरुद्ध पुनः अपिल गर्ने तयारी गरेका छन् ।

सरकारी वकिलहरुले उनले धेरै उमेर भएका धनाढ्य पुरुषहरुलाई आफ्नो शिकार बनाउने गरेको बताएका छन् । जापानी मिडियामा उनलाई ‘ब्ल्याक विडो’ भनेर चिनिन्थ्यो । ब्ल्याक विडो नामक माकुराले शारीरिक सम्पर्कपछि पुरुष माकुरा खाने गर्छ ।

क्योटो जिल्ला अदालतले केकेहीले चार विभिन्न घटनामा ‘हत्याको उद्देश्य’ ले साइनाइडको प्रयोग गरेको पाइएको ठहर गर्दै उक्त अपराधमा उनलाई दोषी ठहर गरिनुपर्ने बताएको छ ।

‘हरेक घटनामा सर्तकतापूर्वक पूर्व तयारी गरिएको थियो । मसँग उनलाई मृत्युदण्डको सजाय दिन बाहेक अन्य कुनै विकल्प छैन,’ न्यायाधीश आयाको नाकागावाले आफ्नो फैसलामा भनेका छन ।

काकेहीले कानमा आवाज सुन्ने यन्त्र लगाएकी थिइन् र बारम्बार न्यायाधीशलाई ठूलो आवाजमा बोल्न आग्रह गरेकी थिइन् । उनलाई मृत्युदण्डको सजाय सुनाउँदा कुनै प्रतिक्रिया समेत जनाइनन् ।

काकेहीमाथि सन् २०१३ को डिसेम्बर २८ मा आफ्नो चौथो पति ७५ वर्षीय इसाओ काकेहीको हत्या गरेको आरोप लगाइएको थियो । उनले विवाह गरेको एक महिनामा नै उनको हत्या गरेकी थिइन् ।

त्यस्तै उनले सन् २००७ र २०१३ को बीचमा आफ्ना दुई प्रेमीको हत्या गरेको आरोप लगाइएको छ । उनीहरुको हत्यापछि पाएको विमा रकमबाट उनले करिब ८८ लाख डलर जम्मा गरेकी थिइन् ।

१३५ दिन चलेको म्यारथन सुनवाईको दौरान काकेहीले आफ्नो पतिको हत्या गरेको स्वीकार गरेकी थिइन् तर पछि त्यसलाई पुनः अस्वीकार गरेकी थिइन् । काकेहीका वकिलहरुले उनलाई डिमेन्सिया नामक रोग लागेको कारण उनलाई आपराधिक सजाय सुनाउन नमिल्ने तर्क प्रस्तुत गर्दै पुनरावेदनमा जाने बताएका छन् ।

सन् २००९ मा संयुक्त न्यायाधीश प्रणाली लागु भएपछि जापानमा चलेको यो दोस्रो लामो मुद्दा हो । यो हाइप्रोफाइल मुद्दाको सुनवाई हेर्न अदालतमा लामो लाइन देखिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्