सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चितवनमा मामा–भाञ्जा मैदानमा, कसले जित्ला ?

यतिबेला देश चुनावमय बनेको छ । शहर बजार जताततै चुनावकै मात्र चर्चा छ । उम्मेद्वारहरु भोट माग्न ब्यस्त छन् । दलहरुविच आआफ्नो पक्षमा मत बढाउने बिभिन्न होडबाजी चलेको छ ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा बाम गठबन्धनका पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका विक्रम पाण्डे मध्ये कसले चुनाव जित्ला भन्दै दैनिक टिका–टिप्पणी सुनिन्छ । तर दाहाल र पाण्डेबीच हुन लागेको चुनावी प्रतिस्पर्धाले मात्र चर्चा पाएको छैन ।

यही क्षेत्रको प्रदेश सभा सदस्यमा मामा–भान्जा उम्मेदवार बनेपछि थप चर्चा चुलिएको छ । क्षेत्र नम्बर ३ को (ख) मा कांग्रेसबाट साजनकुमार महतो र माओवादीबाट रामलाल महतो मैदानमा छन् । रामलाल साजनका जेठो मामा हुन् ।

दुवैले पार्टीबाट उम्मेदवारको रुपमा एकै दिन टिकट पाए । गत कार्तिक १६ गते मनोनयन दर्ताको दिन बिहान साजनले टिकट पाए भने रामलालले अलि ढिलो टिकट पाएको थाहा पाए । भान्जाले टिकट पाएको थाहा पाउनासाथ उनले फोन गरेर बधाई दिए । त्यसपछि मामा भन्जाको भेट भएको छैन ।

दुवैको घर भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीमा पर्छ । मामा–भान्जाको घर १ किमि दुरीमा छ । ‘मामा–भान्जा प्रतिस्पर्धी भएर चुनावी मैदानमा उत्रिएका छौं,’ साजनले भने,–‘घरमा हुँदा मामा भान्जा हो, अब राजनीतिक रुपमा हामी दुईको विचार फरक छ, चुनावमा दुवै प्रतिस्पर्धी हौं ।’ उनले चुनावले गर्दा दुवैजना एउटै क्षेत्रबाट प्रतिस्पर्धी बन्न पुगेको बताए । अहिले दुवै चुनावी प्रचाररप्रसारमा जुटेका छन् ।

पार्टीका महाधिवेशन प्रतिनिधी रहेका साजन पार्टीबाट अघि सारिएका नयाँ अनुहार हुन् । ‘माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो पक्षमा माहोल बनाउन मामालाई अन्तिम समयमा मैदानमा उतारे,’ साजनले भने, ‘त्यही भएर मामा–भान्जा फरक–फरक पार्टीबाट चुनावी मैदानमा छौं ।’

उता रामलाल भने संयोगले यस्तो भएको बताउँछन् । ‘चुनाव हारेपनि मामा–भान्जा नै हो,’ उनले भने, ‘जितेपनि मामा–भान्जा नै हो, चुनावले गर्दा सम्बन्ध टुटाउने कुरा हुँदैन ।’

दुवैको एउटै क्षेत्र भएपनि घरदैलो कार्यक्रममा भेट भएको छैन । दुवै अहिले फरक–फरक ठाउँमा भोट माग्न व्यस्त छन् । ‘मामाले जित्लानकी कि भान्जाले ?’ भन्दै प्रश्न चिन्ह खडा गर्नेको जमात बाक्लो छ ।

यो क्षेत्रमा भरतपुर महानगरपालिकाको १३, १४, २१, २२, २३, २४, २५ र माडी नगरपालिका पर्छ । यो क्षेत्रमा थारु समुदायको बाहुल्यता बलियो रहेकाले दुबै मामा–भान्जाबीच कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।

मामा–भान्जा मात्र होइन । जिल्लाको ३ वटै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेकाहरु आ–आफ्नो क्षेत्रमा आयोजना गरिएका चुनावी सभा तथा जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS