कोरोना भाइरसका कारण ११ जना नेपालीको मृत्यु
बिश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपाल भित्रै अहिलेसम्म मानविय क्षति नभए पनि बिभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीहरुको भने कोरोना संक्रमणका कारण निधन भएको छ । बेलायत, अमेरिका र युएईमा गरेर ११ जना नेपालीको ज्यान गएको आधिकारिक पुष्टि भएको छ ।
कोरोनाका कारण अमेरिकामा पाँचथर घर भएका ५० बर्षिय अनिल सुब्बाको निधन भएको छ भने मुस्ताङ घर भएका बर्ष ४० का सोनाम लामा र ४८ बर्षिय थोक्मे बिष्ट, सोलुखुम्बु घर भएका निमा तेम्बा शेर्पा र काठमाण्डौ घर भएका अजयमान छोचुको पनि कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।
अमेरिकामा करिब ५–६ सयको हाराहारीमा नेपालीहरु कोरोनाबाट संक्रमित भएको अनुमान गरिएको छ । अमेरिकास्थित महावाणिज्य दुतावासमा हालसम्म ३ जनाले मात्रै कोरोना भएको जानकारी गराए पनि न्युयोर्क लगायतका शहरमा ठुलो संख्यामा नेपाली संक्रमित भएको अमेरिकामा क्रियासिल सामाजिक अभियन्ताले बताएका छन् ।
अमेरिकास्थित अस्पतालले कोरोना संक्रमितको विवरण नखुलाउने र संक्रमितका परिवारले पनि जानकारी नदिने भएकाले संक्रमितको आधिकारिक विवरण थाहा नभएको अमेरिकास्थित महावाणिज्य दुतावासले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पनि ५ जना नेपालीको मृत्यु भएको छ । लण्डनमा कोरोनाका कारण भुतपुर्व गोर्खा सैनिक ६६ बर्षिय लिलाबहादुर राईको निधन भएको छ भने चितवन घर भएका ४० बर्षिय प्रसान्त अर्यालको पनि कोरोनाकै कारण निधन भएको छ ।
मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन भएको छ । नेपालमा पर्वत पैंयू घर भएका गुरुङ मधुमेहका रोगी भएको खुल्न आएका छ । १ साता पहिला अस्पताल भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।
यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो । ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो । केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
त्यसैगरी नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ । परिवार भेट्न बेलायत आएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ ।
विगत ४ दिनदेखि उपचाररत उनलाई बुधवार अस्पतालले फोन गरेर बचाउन नसकिएको जानकारी गराएको थियो । उनको त्यहाँ चार दिनदेखि उपचार भइरहेको थियो । परिवारको अनुरोधमा उनको परिचय खुलाइएको छैन ।
त्यसैगरी दुवईमा रुपन्देही घर भएकी ४० बर्षिय एक महिलाको कोरोना संक्रमण कारण ज्यान गएको छ । करिब एक बर्ष देखी दुवईमा कार्यरत उनका श्रीमानसमेत एक महिना पहिले मात्रै भिजिट भिसामा दुवई गएका थिए ।
नेपाल बाहिर विश्वका बिभिन्न देशमा रहेका करिब १ हजार नेपाली कोरोना संक्रमित भएको आँकलन गरिएको छ । संक्रमित सबैको एकिन विवरण नखुले पनि संक्रमितहरुको संख्या धेरै भएको अनुमान गरिएको छ । अमेरिका, बेलायत, बहराईन, दुवई, अष्ट्रेलिया, जापान, जर्मनी, पोर्चुगल लगायतमा देशमा नेपालीहरु कोरोनाबाट संक्रमित भएको पाइएको छ ।
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको आधिकारीक पुष्टि भएको छ । संक्रमित ९ जनामध्ये पहिलो संक्रमित चिनबाट आएका बिद्यार्थी निको भएर घर फर्किसकेका छन् । अन्य ८ जनाको उपचार भईरहेको छ । संक्रमित मध्ये ८ जना विदेशबाट आएका हुन भने धनगढीकी एक महिलालाई युएईबाट आएका उनका देवरबाट सरेको हो । उपचार गराईरहेका सबैको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।
नेपालमा हालसम्म कोरोना लागेको आशंकामा २ हजार १ सय २२ जनाको परिक्षण गरिसकिएको छ । परिक्षण गरिएकामध्ये २ हजार १ सय १३ जनामा संक्रमण देखिएको छैन । हाल १ सय जनाको आइसोलेसनमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले बैशाख ३ गतेसम्म लकडाउन गरेको छ भने बैशाख १८ गतेसम्म सबै अन्र्तराष्ट्रिय उडानहरु बन्द गरेको छ । उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्चालन हुने छन् ।
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ८८ हजार ४ सय ८० पुगेको छ । संक्रमित हुनेको संख्या १५ लाख १८ हजार २ सय ७३ पुगेको छ । संक्रमित मध्ये तीन लाख ३२ हजार ९ सय ७७ जना निको भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । इटलीमा मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार ४सय २२ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ७ सय ९२ र संक्रमितको संख्या एक लाख ४८ हजार २ सय २० पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृतक संख्या १४ हजार ८ सय ३३ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३५ हजार ५ सय ९२ पुगेको छ । निको भएर घर फर्कनेको संख्या २४ हजार १ सय २५ रहेको छ ।
फ्रान्समा मृतक संख्या १० हजार ८ सय ८७ पुगेको छ भने संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ८२ पुगेको छ । फ्रान्समा हालसम्म २१ हजार ४ सय ६१ जना निको भएर घर फर्किसकेका छन् । फ्रान्सको अस्पतालमा उपचार गराईरहेका सात हजार भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ ।
बेलायतमा मृतकको संख्या ७ हजार ९७ पुगेको छ । संक्रमित हुनेको संख्या ६० हजार ७ सय ३३ पुगेको छ । बेलायतमा कोरोना संक्रमित १ हजार ९ सय १८ जना उपचार पछी घर फर्किएका छन् । समग्रमा विश्वका मुख्य प्रभावित देशको सुची हामीले प्रस्तुत गर्यौँ । इरान, टर्की, चिन, क्यानडा, नेदरल्याण्ड, स्विजरल्याण्ड लगायतका देश पनि अति प्रभावित देशको सुचीमा रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्