सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

केरुङ–काठमाण्डौ रेलमार्गको खर्च २ खर्ब ६९ अर्ब

नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वन लगायत क्षेत्रका विज्ञसहित आएको चिनियाँ टोलीले यस्तो अनुमान गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख केशवकुमार शर्माले बताएका छन ।

केरुङदेखि काठमाडौैंसम्म करिब सय किलोमिटर रेलमार्ग निर्माणको लागत अनुमान गरिएको हो । चिनियाँ पक्षले तत्काल आयोजनाका रूपमा अघि बढाउनेभन्दा पनि उच्च तहमा छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । चीनले आयोजनाको प्रारम्भिक अध्ययनलाई भने निरन्तरता दिने बताएको छ ।

रेलमार्ग निर्माणमा भौगोलिक संरचना चुनौती
चिनियाँ उच्चस्तरीय अध्ययन भ्रमण टोलीले नेपालमा रेलमार्ग विकासमा भौगोलिक बनावट (संरचना) ठूलो चुनौती रहेको बताएको छ । टोलीसँग शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दोस्रो तथा अध्ययनपछिको वार्तामा चिनियाँ पक्षले उक्त चुनौती प्रस्तुत गरेको हो ।

विशेषगरी केरुङदेखि काठमाडौंसम्म रेलमार्ग विकास गर्ने सम्भावित स्थानका चट्टान कमजोर रहेको चिनियाँ टोलीले स्पष्ट पारेको छ । जसले गर्दा रेलमार्ग निर्माण कठिन हुने र लागत उच्च हुने जानकारी गराएको मन्त्रालयका वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख शर्माले जानकारी दिएका छन ।

नेपाली पक्षले कर्मचारी तहमा दुई देशबीच रेलमार्ग निर्माण सहमतिमा पुगे पनि राजनीतिक प्रतिबद्धताविना अघि बढ्न गाह्रो हुने बताएको छ । नेपालको रेलमार्ग विकासमा सहयोग गर्ने भनेरै चिनियाँ टोलीले चासोको साथ स्थलगत अध्ययन भ्रमण गरेकाले राजनीतिक तहमा हुने निर्णय महत्वपूर्ण हुने भौतिक मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

चिनियाँ टोलीले रेलमार्ग विकास गर्न नेपाली पक्षबाट प्राविधिक तथ्यांक उपलब्ध गराउनुपर्ने बताएको छ । जसमा जग्गा, वन, जनसंख्या लगायत पर्छन् । त्यस्तै, जग्गा प्राप्तिका लागि स्पष्ट कानुन, पूर्वाधार आयोजना सञ्चालनको कानुन र वातावरणीय सुरक्षासम्बन्धी कानुन उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS