मंसिर ९ मा एमाले र माओवादी एकिकरणको घोषणा
वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच मंसिर १० मा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगावै पार्टी एकीकरण हुने भएको छ ।
निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच मंसिर ९ मा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरण अगावै पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेका हुन् ।
निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन् । पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताएका छन ।
पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन् । स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन् ।
‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षका दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेताकार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ ।’
माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन् । पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन् ।
पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भइरहेको छ । पार्टी एकीकरणका लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल गरिरहेको छ । घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरूले अझै गोप्य राखेका छन् ।
मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ भने एमालेमा माओवादी जनयुद्धलाई कतिसम्म स्वीकार गर्ने कि त्यसलाई आन्दोलनका रूपमा व्याख्या गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्