सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्रयाक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ ।

रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारी अन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताएका छन । उनले भने–‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो । यसको निर्णय चाँडै आउँछ ।’

बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ । सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्रयाक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्