सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यसरी ढल्दैछ जिम्बावेका राष्ट्रपति मुगावेको विरासत

जिम्बावेका ९३ वर्षीय राष्ट्रपति मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख हुन् । झन्डै चार दशकदेखिको उनको अकन्टक शासन यतिबेला धर्मराएको मात्र छैन, सकिने क्रममा छ । त्यसको एउटै कारण हो, पत्नीलाई उत्तराधिकारी बनाउने उनको महत्वाकांक्षा ।

यही महत्वाकांक्षा चुलिएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गर्यो । उनलाई आफ्नो शासन र सुरक्षाप्रति रत्तिभर शंका थिएन । आफ्नो महत्वाकांक्षामा अवरोध आउला भन्ने उनले सोचेकासम्म थिएनन् ।

उनी यति निश्चिन्त थिए, अघिल्लो क्रिसमस लगत्तै महिनादिन छुट्टीमा गएका थिए, जिम्बावेबाट टाढा । यसबीच आफ्नो शासन धर्मराउला भन्ने उनलाई डर थिएन, न त सत्तारूढ दल र सैनिकमाथिको कसिलो नियन्त्रण फुस्केला भन्ने चिन्तै थियो ।

उनी त त्यही दल र सैनिक समर्थनमा जिम्बावेको शासन आफ्नो परिवारभित्रै सीमित राख्ने मनसुबा पालेर बसेका थिए । उनले आफ्नो उत्तराधिकारी रोजेका थिए, पत्नी ग्रेस मुगावे ।

जुन सत्तारूढ दल र सैनिकका भरमा मुगावे आफूलाई जिम्बावेका अकन्टक शासक मान्थे, आखिरमा त्यही दल र सैनिकले उनलाई अपदस्य गर्यो । सँगसँगै, उनकी ४१ वर्ष कान्छी पत्नी ग्रेस पनि पार्टीबाट निकालिइन् ।

सत्तारुढ दलले केही दिनदेखि नै मुगावे दम्पतीविरुद्ध दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो । गत शनिबार राजधानी हरारेमा दसौं हजार मान्छेले प्रदर्शन गरेका थिए । त्यसअघि गत बुधबार मुगावे दम्पतीलाई सैनिकले घरमै नजरबन्द राखेको थियो ।

सैनिकको आड र जनसमर्थनको बलमा पार्टीले उनलाई अध्यक्षबाट हटाउने निर्णय गर्यो । अपदस्थ गरिए पनि कानुनी रूपमा भने मुगावे अझै राष्ट्रपति नै हुन् । सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै शासन गर्दै आएका मुगावेलाई भने यी घटनाक्रमले कुनै प्रभाव पारेको देखिन्न ।

कम्तिमा उनले आइतबार राति गरेको सम्बोधनमा यस्तै झल्किन्छ । उनले त्यो सम्बोधनबाट राजीनामा घोषणा गर्ने धेरैको अपेक्षा थियो । उनले राजीनामा दिएनन, बरु सत्ता छाड्न हाकाहाकी अस्वीकार गरे ।

देश कठिन समयमा गुज्रिरहेको त स्वीकारे, तर आफ्नो समर्थन घटेकोलाई महत्व दिएनन् । पार्टीले उनलाई राष्ट्रपतिबाट राजीनामा दिन सोमबारसम्म म्याद दिएको छ । अन्यथा, संसदमा महाभियोग सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।

उनले यो चेतावनी बेवास्ता गर्दै ‘केही साताभित्रै पार्टी नेतृत्वमा फर्किने’ घोषणा गरेका छन । यो सम्बोधन संकेत हो, ३७ वर्ष देशलाई नियन्त्रणमा राखेका मुगावे यति सजिलै हार मान्नेवाला छैनन ।

मुगावे अधोगतिको सुरूआत यही नोभेम्बर ६ मा भएको थियो, जब उनले उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदच्यूत गरे । र, त्यसको केही दिनपछि सैनिक कमान्डरलाई पक्राउ गर्ने प्रयास गरे ।

‘मुगावेले लक्ष्मणरेखा पार गरेका छन । हामी उनलाई मनलाग्दी गर्न दिने पक्षमा थिएनौं,’ सैनिक संगठनको छायाँ बनेर राजनीतिमा हिस्सा लिँदै आएको वार भेटरान एसोसिएसनका नेता डग्लस माहियाले भने ।

मुगावे र मांगाग्वाबीच पार्टीभित्र लामो समयदेखि नेतृत्वको लडाइँ थियो । यीमध्ये मांगाग्वालाई सैनिक समर्थन थियो । मुगावेले भने पत्नी ग्रेसलाई नेतृत्व पंक्तिमा ओरालेका थिए । उनलाई समर्थन थियो, प्रहरीको ।

पदच्यूत भएको केही घन्टाभित्रै मांगाग्वा पक्राउ परिने डरले भागेर छिमेकी देश मोजाम्बिक पुगे । मोजाम्बिक सैनिकसँग पनि उनको राम्रो तालमेल थियो । त्यहाँ केही दिन बिताएपछि उनी दक्षिण अफ्रिका गए ।

यसबीच उनलाई पछ्याउँदै वार भेटरानका अध्यक्ष तथा अन्य अधिकारी दक्षिण अफ्रिका पुगे । उनीहरूले ‘जिम्बावेमा सैनिक हस्तक्षेप हुन सक्ने’ बारे दक्षिण अफ्रिकी अधिकारीहरूलाई सचेत गराए । यसलाई सैन्य ‘कू’ का रूपमा नलिइदिनू भन्ने उनीहरूको आग्रह थियो ।

दक्षिण अफ्रिकाले उक्त भेटको आधिकारिक पुष्टि गरेको छैन । बुधबारको सैनिक हस्तक्षेपपछि जारी विज्ञप्तिमा भने उसले ‘कू’ भन्ने शब्द कतै उल्लेख गरेको छैन ।

त्यसको केही दिनभित्रै राजधानी हरारेमा सैन्य चहलपहल बढ्न थाल्यो । मुगावे दम्पतीलाई नजरबन्द राखियो । सडकमा प्रदर्शनकारीको संख्या ह्वात्तै बढ्यो । र, अन्ततः ग्रेसलाई भावी नेतृत्वका रूपमा बढाउने महत्वाकांक्षा नै मुगावे पतनको कारण बन्यो ।

‘राजनीतिमा ग्रेसको प्रवेशले जिम्बावेको सत्तारूढ दलमा चिरा पार्ने काम गर्यो,’ विपक्षी नेता टेन्डाइ बिटीले भने, ‘यो एकै डिनर–टेबलमा खाना खानेहरूबीच उत्पन्न असमझदारीले ल्याएको ‘कू’ हो । जबकि, अफ्रिकामा धेरै ‘कू’ टेबलमुनिका मान्छेबाट हुन्छ ।’

ग्रेस सन् २०१४ मा पार्टीको महिला संगठन प्रमुख थिइन् । त्यसै वर्ष डिसेम्बरमा उपराष्ट्रपतिको सिफारिसमा परिन् । त्यसयता उनले आफूलाई राष्ट्रपति दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी छन् । यति हुँदाहुँदै ग्रेस किन राजनीतिमा हामफालिन् भन्ने प्रस्ट छैन ।

ग्रेस मुगावेको कार्यालयमा ‘टाइपिस्ट’ काम गर्थिन् । उनका आँखा मुगावेमा परे वा मुगावेका उनमा, उनी शक्तिशाली राष्ट्रपतिकी ‘गर्लफ्रेन्ड’ बनिन् । त्यो बेला मुगावेकी पत्नी बिरामी थिइन् । उनको मृत्यु पछि मुगावे र ग्रेसको सन् १९९६ मा विवाह भयो । ४१ वर्ष कान्छी ग्रेस ७२ वर्षीय मुगावेकी दोस्री पत्नी बनिन् ।

ग्रेसको पनि पहिलो विवाह अर्कैसँग भएको थियो। अहिले मुगावे दम्पत्तीका तीन सन्तान छन् । जिम्बावेमा ग्रेसको पहिचान नेताका रूपमा कम, ‘गुची ग्रेस’ का रूपमा बढी छ । गुची एक अन्तर्रा्ष्ट्रिय ब्रान्ड हो । महँगा किनमेलमा रूचि राख्ने र ब्रान्ड सोखिन भएकाले नै उनलाई गुचीसँग जोडेर व्यंग्य गरिएको हो ।

ग्रेसको राजनीतिक महत्वाकांक्षामा सत्तारूढ पार्टीबाट पटक–पटक निष्कासित जोनादन मोयोको हात देखिन्छ । पार्टीभित्र गुटबन्दी गरेको भन्दै मोयो निष्कासनमा परेका थिए । उनको विद्वता र संगठन क्षमताको मुगावे तारिफ गर्थे । उनको व्यक्तिगत चरित्र भने रुचाउँथेनन् । उनलाई व्यंग्य गर्दै मुगावे भन्थे, ‘मकैमा लाग्ने कीरा’ ।

मुगावेले आफूलाई पूर्ण विश्वास गर्दैनन् भन्ने मोयोलाई पनि राम्ररी थाहा थियो । यहीँनिर आफ्नो स्थान कायम राख्न उनले ग्रेसलाई राजनीतिमा आउन उक्साएको पार्टी निकटहरू बताउँछन् । ग्रेसलाई मुगावे पछिको आफ्नो भविष्यको चिन्ता थियो । उनी असुरक्षित महशुस गर्थिन् । यसैमा मोयोले खेलेको धेरैको बुझाई छ ।

मोयोले ग्रेसलाई भनेको उद्धृत गर्दै मानवअधिकार अनुसन्धानकर्ता देवा माहिन्दाले भने, ‘तपाईं जवान हुनुहुन्छ, तपाईंका श्रीमान भने अस्ताउन लागेका घाम हुन् । उहाँको भर परेर हुँदैन । आफ्नो भविष्य सुरक्षित गराउने जिम्मा तपाईंकै हो । तपाईंलाई आफूप्रति इमान्दार मान्छेको खाँचो छ, जसले पार्टीभित्र तपाईंको स्वार्थको रक्षा गर्छन् ।’

यसैबाट प्रभावित भएर ग्रेस र उनका समर्थकले पार्टीभित्रका विपक्षी सदस्यलाई धमाधम निष्कासन गर्न थाले । त्यतिबेला मुगावे रोगले थला परेका थिए । उनको सिंगापुर आउजाउ बढेको थियो । उनले आफ्नो उत्तराधिकारी छनौटको अन्तिम निर्णय भने गरिसकेका थिएनन ।

समय घर्किंदै थियो । मोयोले गत जुलाईमा भएको पार्टी बैठकमा सिधै मांगाग्वाविरूद्ध धावा बोले । उनले बैठकमै ७२ मिनेटको भिडियो देखाए, जसमा मांगाग्वा र उनका समर्थक कसरी सत्ता हत्याउन चाहन्छन् भन्ने झल्किन्थ्यो ।

यही मौकाको फाइदा उठाउँदै ग्रेसले विपक्षीमाथिको आक्रमण तीव्र पारिन् । उनले मांगाग्वालाई ‘डरपोक’ र ‘कू–सर्जक’ को संज्ञा दिइन । ‘म यो देशकी प्रथम महिला हुँ । म सधैं सत्यका पक्षमा उभिन्छु । मेरो कुरामा चित्त बुझ्दैन भने, सैनिक डाकेर मलाई गोली हान्न लगाऊ,’ उनले भनिन् ।

यो अन्तद्वन्द्वले मुगावे पनि रिसाए । पार्टीभित्र विभाजन ल्याएको भन्दै मांगाग्वालाई पदच्यूत गरे । र, ग्रेसलाई उपराष्ट्रपति बनाउने बाटो खोले । ग्रेस निर्विवाद रूपमा जिम्बावेकी उत्तराधिकारी बन्ने थिईन, मुगावेको प्रयास सफल भइदिएको भए ।

अहिले पासा पल्टिएको छ । ग्रेस महिला संगठन प्रमुखबाट मात्र होइन, आजीवन पार्टीबाटै निकालिएकी छन् । मोयोलाई पनि यस्तै सजाय दिइएको छ । यो द्वन्द्वमा अन्ततः विजयी सावित भएका छन् मांगाग्वा, जसलाई पार्टीले नयाँ नेतृत्व सुम्पेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS