सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मञ्चमै ढले पाख्रिन, मञ्चबाटै भयो मृत्युको घोषणा

भरतपुरमा भएको बाम गठबन्धनको चुनावी सभामा आईतबार निधन भएका प्रचण्डपुत्र प्रकाशको सम्झनामा गित गाउँदागाउँदै बेहोस भएका जनवादी गायक खुशिराम पाख्रिनको निधन भएको छ । जनवादी गायकलाई गित गाउँदै गर्दा हृदयघात भएको थियो ।

हृदयघात भई ढलेका उनलाई तत्कालै चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तत्कालै अस्पताल पुर्याईए पनि उनको उपचारका क्रममा निधन भएको थियो । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।

उनले ‘उठ जाग यूवा’हरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए । त्यसपछि उनी मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अप्ठ्यारो भयो भन्दै असहज माने । लगत्तै ढले ।

लगत्तै उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपाने लगायतका माओवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिनले बाटोमा वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो ।

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए । डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो ।

पहिला अस्पताल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे । पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो । भरतपुर–९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो । उनी त्यहीँ सहभागी हुन आएका थिए । तर, त्यही नै उनको अन्तिम कार्यक्रम बन्यो ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माओवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनै पाख्रिनले नै लेखेका थिए । पहिलो संविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का वासिन्दा हुन् । उनका कान्छा छोरा जनयुद्धका सहीद हुन् ।

को हुन् त खुशिराम पाख्रिन ?

नेकपा माओवादीका तर्फवाट निवर्तमान सभासद समेत रहेका पाख्रिनले विगत ३५ बर्षदेखी जनवादी गीत लेख्दै आएका छन । एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउँदै हिडेको उनी बताउँछन् ।

‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दाईले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।

‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु..’ ‘न्यायपूर्ण युद्धको लहरले..’ ‘रक्त क्रान्तिको बेला हो यो..’ र ‘लडदै छौ मुक्ति युद्ध..’ नामका गीतहरु उनका चर्चित छन् । वि.स.२००९ सालमा गोर्खाको खरिवोट सिस्नेमा जन्मेका पाख्रिन इच्छुक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS