सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज रातीबाट आचारसंहिता सुरु, प्रचारप्रसार बन्द

आगामी मंसिर १० गते देशका ३२ जिल्लामा हुन लागेको पहिलो चरणको आम निर्वाचनका लागी आजबाट मौन अवधी सुरु हुँदैछ । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजे देखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार सम्बन्धि कुनै पनि गतिबिधि गर्न पाइँदैन । आज राति १२ बजेबाट निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन । मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेद्वारी रद्द एवम् कसुर अनुसार अन्य कारबाही हुने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार–प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्नेछ ।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्