आईतबार ३२ जिल्लामा निर्वाचन, सबै तयारी पुरा
पहिलो चरणमा अन्र्तगत ३२ जिल्लामा आईतबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आईतबार हुने ३२ जिल्लाको निर्वाचनमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउनेछन् । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्तले जनाएका छन ।
स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ ।
पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार भोलि ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।
तीन रंगका मतपत्र, चार ठाउँमा छाप
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मतपत्रमा रहेका चुनाव चिहृनमध्ये एउटामा छाप लगाउनुपर्नेछ ।
प्रदेशसभाका प्रत्यक्ष उम्मदेवारका लागि कालोमसीले छापिएका निर्वाचन चिहृनमध्ये कुनै एकमा स्वस्तिक छाप लगाएर तोकिएको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।
समानुपातिकतर्फ एउटै मतपत्र छ । तर, त्यहाँ केन्द्र र प्रदेशका लागि दुई टाउँमा छाप लगाउनुपर्ने छ । रातो रंगको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेश सभाका लागि स्वस्तिक चिन्ह लगाउनुपर्नेछ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्