चुनावपछी ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि जनताले निर्बाचित गरेको सबैभन्दा बलियो सरकार बन्ने बताएका छन । उनले चुनाब पछी बन्ने नयाँ सरकारले देशमा विकासको लहर नै ल्याउने दाबी समेत गरेका छन् ।
काठमाडौंको बौद्धमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमत मात्रै होइन, अबको सरकार भिजन भएको बलियो सरकार बन्ने बताएका थिए । ओलीले भने–‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ । मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’
ओलीले कार्यक्रममा कांग्रेसलाई गाली गर्न भने छाडेनन् । उनले कांग्रेसले बनाएको चुनावी गठबन्धनलाई लोकतान्त्रिक नभएको आरोप लगाएका छन । ‘त्यो दक्षिणपन्थी गठबन्धन हो,’ उनले भने, ‘वास्तविक लोकतान्त्रिक गठबन्धन हाम्रो हो, प्रगतिशील गठबन्धन हो । लोकतान्त्रिक हुन्थ्यो भने एमाले र माओवादी केन्द्र मिल्दा किन डराउनुपर्थ्यो ।’
ओलीले चुनावपछि अधिनायकवाद होइन, देशद्रोही र भ्रष्टाचारीका दिन नआउने बताएका थिए । ओलीले दलाई लामाले ‘गौतम बुद्ध भारतमा जन्मेको’ भनेर बोल्नै नहुने कुरा बोलेको बताएका छन । ‘नेपालीले लगाएको गुण बिर्सेर, नेपालको राष्ट्रियतामा धक्का दिनुभयो,’ उनले भने, ‘यसमा अन्र्तराष्ट्रिय षड्यन्त्र लुकेको छ, कोचले सिकाएर उनले त्यस्तो बोलेका हुन् ।’ ओलीले दलाई लामाले यस गल्तीलाई सच्याउने अपेक्षा व्यक्त गरेका छन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्