ट्राभल एजेन्सीको सेटिङ्गमा यसरी हुन्छ मानव तस्करी
पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए ।
तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए ।
त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो । एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो ।
दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो ।
विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याबिनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए ।
ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरे लगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।
माथि अध्यागमनको काउन्टरमा लगेर पासपोर्टमा छाप हानिदिए । भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच गरेनन् । जब कि दुई दिनअघि तिनै कर्मचारीले सबै कागजपत्र हुँदा पनि जान दिएका थिएनन् ।
बस्नेतजस्तै दर्जनौँ व्यक्ति त्यसैगरी विमानस्थलबाट ‘सेटिङ’मा उड्ने गर्दछन् । त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जाने हुन्छन् । गत ५ मंसिरमा गोंगबुको त्यही ट्राभलले तीनजनालाई कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा विदेश उडाएको थियो ।
दुबईमा नेपालीका दर्जनौँ ट्राभल एजेन्सी छन् । त्यहाँ ट्राभल एजेन्सी खोल्न निकै गाह्रो छ । तैपनि ट्राभल एजेन्सी बढ्नुको कारण टिकेटिङको बिजनेस होइन, मानव तस्करी हो । उनीहरूले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।
खाडी र मध्यपूर्वी देशहरूमा महिलाको समेत विमानस्थलबाटै तस्करी भइरहेको छ । आकर्षक जागिरको सपना बोकेर जानेहरू कतिपय अलपत्र पर्ने गरेका छन, केही बेचिने गरेका छन् ।
भिजिट भिसामा मानव तस्करी बढेपछि तीन वर्षअघि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेको कागजपत्र सुरुमा प्रहरीले चेकजाँच गर्ने प्रावधान लागू गरेको थियो । तर, गत वर्षदेखि प्रहरीलाई सो जिम्मेवारीबाट हटाइएपछी सेटिङ्गमा मानव तस्करी गर्ने क्रम बढेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्