सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सामुहिक बलत्कारपछी दम्पतीको बिभत्स हत्या

बाराको जितपुर बजनीमा बिभत्स हत्या गरिएको अबस्थामा भेटिएका गाईपालक कृषक दम्पती बलत्कारको प्रतिकार गर्दा मारिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार श्रीमती दिपिकामाथी सामुहिक बलत्कार भएको पाईएकोले प्रतिकार गर्दा दुबैजनाको हत्या गरिएको हुनसक्ने देखिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको बिभत्स हत्या भएको हो । दिपिकाको शव निर्वस्त्र अवस्थामा कोठामा भेटिएको थियो भने पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको थियो ।

घटनाको प्रकृति हेर्दा र स्थानीय सामाजिक अगुवा कृष्ण खनालका अनुसार गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको पाईएको छ । उनीहरुको हत्यामा को संलग्न थिए भन्ने पहिचान खुलेको छैन् ।

घटना बजनी टोलदेखि ५ सय मिटर पश्चिममा रहेको गाई पाल्ने गोठमा सुवेदी दम्पती सुतिरहेको बेला भएको हो । घटनास्थल पर्सा जिल्लासँग जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहेको हुन्छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी गराएका छन । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’

मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका छन । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ,’ एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’ घटनापछि स्थानीय शोकमा छन् । गाउँमा त्रास बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्