सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समिरमान बस्नेतले गरे गौचन हत्याको खुलासा

गुण्डा नाईके समिरमान बस्नेत पक्राउ परेसँगै गत असोज २१ गते बानेश्वरस्थित घर नजिकै गोली हानि हत्या गरिएका शरद कुमार गौचनको हत्याको घटनाले नयाँ मोड लिएको छ ।

समिरमान बस्नेतसँगको बयानपछी प्रहरीले तयार पारेको रिपोर्टमा हत्या गरिएका गौचनले आफ्नो कन्स्ट्रक्सन कम्पनीमा कुमार घैंटेले गरेको लगानी रकमको बिषयमा भएको विवादमा उनको हत्या भएको उल्लेख गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलिले समीरमान बस्नेतलाई शनिबार चितवनबाट पक्राउ गरेको हो । सीआईबीले तयार पारेको रिपोर्टमा मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी गरिएको छ ।

प्रहरीका अनुसार ०७२ को भदौ ३ गते घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछी समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गर्दै रकम फिर्ता गर्न वा शेयर दिन पटक–पटक आग्रह गरेका थिए । गौचनले बस्नेतको प्रस्ताव नमानेपछि उनीहरुबीच विवाद भएको थियो ।

त्यसबाहेक समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । सो हुलाकी राजमार्गको ठेक्का शरद गौचनले नै पाएका थिए । गौचनले समिरमानले मागेको रकम नदिएपछी समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्