सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचारको अन्तिम दिन, यस्ता छन दलका कसरत

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचण आउन अब ३ दिन बाँकी छ । निर्वाचन आयोगले दलहरुलाई प्रचारप्रसार गर्नका लागी आज (सोमबार) राति १२ बजेसम्म अन्तिम दिन तोकिदिएको छ । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।

मौन अबधी सुरु भएपछी उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा अन्य कुनै माध्यमबाट पनि मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग सबै पूरा भएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएको बताएका छन । उनले भने–‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ ।’ आचारसंहिता उलंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सहसचिव र ८८ उपसचिवलाई परिचालन गरेको छ ।

आयोगका अनुसार एक हजार मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयू लगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ ।

के छ त कांग्रेसको अन्तिम चुनावी तयारी

प्रचारप्रसारको अन्तिम दिन सभापति शेरबहादुर देउवादेखि उम्मेद्वार बनेका अधिकांश नेता आफ्नै क्षेत्रमा व्यस्त हुँदै छन् । कांग्रेसले सोमबार डडेलधुराको अमरगढी, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, सुनसरी, पर्सा, भक्तपुर, ललितपुरको गोदावरी लगायत ठाउँमा ठूला सभा राखेको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बताएका छन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रचारको अन्तिम दिन आफ्नै चुनावी क्षेत्र डडेल्धुरामा व्यस्त हुनेछन् । आइतबार कञ्चनपुरका बेलौरी र महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गरेका उनले सोमबार डडेल्धुराको अमरगढीमा हुने सभालाई सम्बोधन गर्दैछन् । त्यसपछि नेता–कार्यकर्तासँगको भेटमै उनको समय बित्नेछ । प्रचारप्रसार गर्न नपाइने १९ र २० मंसिरमा पनि देउवा डडेल्धुरामै रहनेछन् । २१ मंसिरमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् ।

तनहुँ २ बाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल प्रचारको अन्तिम दिन दमौलीमा हुने चुनावी सभामा सहभागी हुँदै छन् । सो सभाका लागि महामन्त्री डा. शशांक कोइराला, डा. रामशरण महतसहितका नेता पुग्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । सभापछि पौडेलले दमौलीका केही स्थानमा हुने कोणसभालाई सम्बोधन गर्ने र नेता–कार्यकर्तासँग भेटघाटको समय राखेको छन् ।

घरदैलो कार्यक्रम सकेर देशभर चुनावी सभामा एमाले

दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरका बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।

प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन, कतिपय स्थानमा अन्तिम घरदैलो लगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।

चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् ।

प्रचण्ड र केपी ओलीको संयुक्त अपिलको तयारी

वाम गठबन्धनका तर्फबाट मतदातालाई गठबन्धनलाई आह्वान गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अपिल निकाल्ने तयारी गरेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर अपिलमार्फत मतदातालाई आह्वान गर्ने अन्तिम तयारी भइरहेको एमाले प्रवक्ता विष्णु रिमालले बताएका छन ।

माओवादी केन्द्र घरदैलो र चुनावी प्रशिक्षणमा

प्रचारको अन्तिम दिन माओवादी नेता ठूला आमसभा र कोणसभा कम गर्दै छन् । मतदाताकेन्द्रित अभियानलाई उनीहरूले प्राथमिकतामा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान एमाले र माओवादी युवाले गर्ने मार्चपासमा सहभागी हुँदै छन् ।

उनले दिउँसो एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र रहेको टाँडीमा हुने आमसभालाई सम्बोधन गर्ने छन् । त्यसपछि नेता–कार्यकर्तासँग भेटघाट र प्रशिक्षणमा सहभागी हुनेछन् । निर्वाचन नहुदासम्म प्रचण्ड चितवनमै बस्ने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्