सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहिले पुरा होला मेची–महाकाली रेल चढ्ने सपना

राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो ।

विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ ।

ईञ्जिनियर उपाध्यायले भने–‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार हुने गरि धमाधम काम भैरहेको छ ।’

विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ ।

सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड, पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ ।

हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर–बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ ।

त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनिे ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ ।

त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्