सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्तामा; आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएका छन् । रिपोर्टर्स क्लवले सोमबार गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन दिएको बताएका हुन ।

मतगणनामा कुनै अप्रिय घट्ना नहोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि पनि निर्देशन दिइएको उनको भनाइ छ । यादवले भने–‘मतगणना छिटो छरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौं ।’

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागिसमेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । उनले भने– ‘मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भूगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराइन्छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावी सुरक्षाको बन्दोबस्त राम्रो रहेको पनि उल्लेख गरेका छन् । मौन अवधिमा आचारसंहिता विपरीत काम भएको पाइए आयोगले कडाभन्दा कडा कारबाही गर्ने यादवले चेतावनी दिएका छन ।

आयुक्त यादवले भने–‘कहीँकतै यस्तो उल्लंघनका घटनाहरु घटेको पाइए आयोगले ठाडै कारबाहीभन्दा पनि उल्लंघनको प्रकृति हेरेर स्पष्टिकरण सोध्छ ।’ पहिलो चरणमा विकट हिमाली जिल्लामा ६५ प्रतिशत मत खसेको भन्दै उनले दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने अनुमान गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्