सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धरानमा बाँदरले बम समातेर भागेपछी हंगामा

धरान–धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो ।

र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित भए । बाँदरले शंकास्पद वस्तु लगेपछि प्रहरी टोली हैरान भयो । उनीहरुले बाँदरलाई पछ्याउन थाले ।

बाँदरले कहाँ लगेर ‘बम’ छाड्ने हो पत्तो नभएपछि प्रहरीका लागि समेत सम्भावित दुर्घटना हुनबाट रोक्न चुनौतिपूर्ण बन्यो । केहीबेरको दौडपछि बाँदरले शंकास्पद भनिएको वस्तुलाई च्यात्यो ।

‘शंकास्पद वस्तु च्यातिने बित्तिकै अब के हुने हो भनेर सबै भाग्न थाले’, एकजना प्रत्यक्षदर्शीले भने, ‘तर, त्यहाँ केही भएन ।’ लगत्तै त्यहाँ गएर हेर्दा एउटा कागजमा लेखिएको थियो, ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरि बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छु ।’

वास्तवमा त्यो बिफोटक पदार्थ नभएर मानिसहरुलाई आतंकित बनाउन राखिएको वस्तु मात्रै रहेछ । ‘भुइँमा भएको भए त्यहीँ डिस्पोज गरिन्थ्यो’, प्रहरी प्रवक्ता डीआइजी मनोज न्यौपानेले भने, ‘तर, बाँदरले बोकेर हिँडेपछि बढी आतंक सिर्जना भयो । केहीबेरमै त्यो बम नभएर ‘होक्स’ मात्र भएको पुष्टि भयो ।’

यस्तै नक्कली बमले अहिले देशैभर त्रास फैलाई रहेको छ । आजमात्रै चितवन र हेटौँडामा पनि नक्कली बम फेला परेको प्रहरीले जनाएको छ । बम भनेर डिस्पोज गर्दा त्यो शंकास्पद बस्तु नक्कली हुने गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्