पैसा बाँड्न हिँडेको भन्दै राजेन्द्र महतोमाथी आक्रमण
जनकपुरमा गएराती राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।
कांग्रेसका कार्यकर्ताले मौन अवधिमा राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै अवरोध गरेपछि झडप भएको हो । तर, राजपाले भने कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रमण भएको आरोप लगाएको छ ।
राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले राती साढे ११ बजे देबी चोकमा जिल्ला नेता जीवनाथ चौधरी, सञ्जय शाहका कार्यकर्ता नवीन यादव, तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहलगायतले आक्रमण गरेको आरोप लगाएका छन । त्यहाँ आफूहरु कुनै गलत मनसाय राखेर गएको नभई कार्यकर्ताको घरमा भेटघाट र खाना खानको लागि मात्रै गएको दाबी गरेका छन ।
यस्तै कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँड्न महतो लगायतको टोली हिँडेको पाइएपछि आफूहरुले अवरोधमात्रै गरेको बताए । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि महतोलगायतका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ । धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुँदैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्