सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरीको हिट लिष्टमा परेपछी विप्लव भुमिगत

देशैभरी बम पड्काएर चुनावलाई प्रभावित पार्ने काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले पक्राउ गर्न हिट लिष्टमा राखेको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता मनोज न्यौपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचिको हिट लिष्टमा रहेको बताएका हुन ।

निर्वाचनमा सुरक्षा सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेतृत्वको नेकपा चुनाव विरोधी गतिविधिमा संलग्न रहेकाले उनलाई पक्राउ सुचिमा राखिएको बताएका छन । पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई व्यापक रुपमा पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

प्रहरी प्रवक्ता न्यौपानेले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताएका छन । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेद्वार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना रहेका छन् । न्यौपानेले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन बनाउन उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागीपरेको बताएका छन ।

प्रवक्ता न्यौपानेले भने–‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोली लगायत रिजर्भ टोली खटाएका छौँ ।’ नेपाल प्रहरीले निर्वाचनमा देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्