सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रियसभामा ४० सिट जित्ला त बामगठबन्धनले ?

एमाले माओवादीबीच पार्टी एकता गर्न गठन गरिएको संयुक्त कायर्दलले मंसिर २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा समेत बाम गठबन्धनले ठूलो जित निकाल्ने निष्कर्ष निकालेको छ । कार्यदलले ५६ सदस्यका लागि हुने निर्वाचनमा ४० सदस्य आफ्नो हुने दावी गरेको हो ।

राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गठित एमाले–माओवादीको संयुक्त कार्यदलले ४० सिट जित्ने दावी गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर छलफल गरिरहेको कार्यदलले संख्यालाई आधार मानेर राष्ट्रिय सभा सदस्यका उम्मेदवार तय गर्न दुवै पक्ष सहमत पनि भएका छन् ।

निर्वाचन आयोगले आगामी माघ सात गते मतदाता नामावली प्रकाशित र १० गते उम्मेदवारको मनोनयनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । दुई पार्टी एकीकरण निर्वाचनभन्दा पहिला नहुने भएपछि दुई दलले उम्मेद्वार चयन गर्ने आधार तय गरेका हुन् ।

यसअघि प्रदेश तथा प्रतिनधिसभा सदस्य निर्वाचनमा एमाले माओवादीले ६०–४० को आधारमा उम्मेदवार तय गरेका थिए । तर, यो निर्वाचनमा निश्चित मतदाता हुने भएकाले ६०–४० भन्दा मतदाता संख्यालाई आधार बनाएर निर्वाचन लड्दा उपयुक्त हुने भएपछि यो नीति तयार गरेको कार्यदल सदस्यहरुले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्