अहिलेलाई पाँचै बर्ष केपी कमरेड प्रधानमन्त्रीः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलापालो प्रधानमन्त्रीको ‘भद्र सहमति’बारे कूटनीतिक जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको छ ।
तर, आलोपालो प्रधानमन्त्री चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने भएकाले यसबारे डकुमेन्टेसन नगर्ने र सार्वजनिक रुपमा नबाल्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ छ ।
मंगलबार गृहजिल्ला चितवन पुग्दा आलोपालोबारे प्रश्न आएपछि प्रचण्डले कूटनीतिक जवाफ दिएका छन् । उनले भनेका छन, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री ।’
एमाले र माओवादीको एकता गरेर डेढ, दुई वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको उनले बताएका छन । प्रचण्डले भने, महाधिवेशनका लागि ५ वर्ष कुर्ने समय छैन । डेढ दुई वर्षमा महाधिवेशन गर्छाँै । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ ।’
५ वर्षका लागि नै उहाँ हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘ अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री । महाधिवेशनले अर्को निर्णय गरेछ भने मैले भन्न सक्दिन ।’
एमाले र माओवादीको एकता महाधिवेशन नहुँदासम्म ओली र आफूले सहमतिमा पार्टी चलाउने उनले बताएका छन । प्रचण्डले भने, पालोपालो बैंठकको अध्यक्षता हुन्छ, पत्राचार गर्दा दुवै जनाको हस्ताक्षर हुन्छ ।’
पार्टी एकताको औपचारिक घोषणा फागुनभित्रै गर्ने तयारी भइरहेको उनले बताएका छन । दाहालले भने–‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन लगत्तै र पार्टी एकताको प्राविधिक बिषय मिलाउने समितिको प्रतिवेदन आएपछि औपचारीक घोषणा हुन्छ ।’
आफ्नो पार्टीसँग नाम मिलेको भन्दै नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएकोबारे प्रचण्डले आफुहरुको पार्टी नै आधिकारिक र वैधानिक भएको दाबी गरेका छन । उनले भनेका छन–‘नाम मात्रैका नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष छैन । पार्टीभित्र जनताको मत र ग्राभिटी हुनुपर्छ’ उनले भने, ‘विप्लवको पार्टीको कुनै अर्थ छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्