कुख्यात गुण्डा मनोजको प्रहरी इन्काउन्टरमा मृत्यु
हत्या, अपहरण र हप्ता असुलीका गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले दिएको जानकारी अनुसार गुण्डा नाईके पुन र उनका सहयोगी सोम आलेको रुपन्देहीको देवदहमा इन्काउन्टर गरिएको हो ।
एसएसपी दीपक थापाका अनुसार गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले लगायतको टोली नेपाल आएको सुचना पाएपछी सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले सर्च अभियान चलाएको थियो ।
सोही सुचनाका आधारमा खोज्दै जाने क्रममा देवदह नगरपालिका ४ भवानीपुरमा गुण्डा नाईके मनोज पुनको टोलीसँग प्रहरीको जम्काभेट भएको थियो । जम्काभेट भएका पुन र उनका सहयोगी सोमलाई पक्राउ गर्न खोज्दा उनीहरु प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएका हुन ।
मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।
पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।
घटनास्थलमा प्रहरीको गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको उपचारकै क्रममा अस्पतालमै बुधबार बिहान मृत्यु भएको हो । इन्काउन्टरमा मारिएका पुन र सहयोगी सोम आलेको शव अहिले पोष्टमार्टमका लागी लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । उनी युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, बलु पौडेल लगायतको हत्याका मुख्य योजनाकार थिए भने निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनको मुख्य हात रहेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्