सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रहिनन् भारतीय नायिका श्रीदेवी, कारण हृदयघात

चर्चित बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण अकस्मात मृत्यु भएको छ । आइतबार एक बिबाह समारोहमा सहभागी हुन श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग उनी दुबई पुगेकी थिइन् ।

श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । ५४ बर्षको अल्पायुमै निधन भएकी श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।

हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छिन् ।

सन् २०१२ मा उनले इंगिलश–विंगलिशमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् । श्रीदेवीले चार वर्षको उमेरदेखि फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् १९६७ मा एक बाल कलाकारको रुपमा फिल्म थनिवानमार्फत आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् ।

करियरको सुरुमा नै उनले मलयालम फिल्म पूमबत्ताका लागि केरला स्टेट फिल्म अवार्डबाट सम्मानित गरिएको थियो । करियरको सुरुवातमा उनले थुप्रै तमिल तेलगु र मलायलम फिल्ममा काम गरिन् जसका लागि उनले थुप्रै अवार्डसमेत हासिल गरिन् ।

श्रीदेवीले सन् १९७८ को फिल्म सोलहवां सावनमार्फत बलिउड फिल्म नगरीमा प्रवेश गरेकी थिइन् तर उनको चर्चा भने सन् १९८३ को फिल्म हिम्मतवालाबाट भएको थियो । यस फिल्ममा उनीसँगै अभिनेता जितेन्द्रले काम गरेका थिए । उनको त्यो फिल्म ब्लकबस्टर भयो ।

त्यसपछि श्रीदेवीले जितेन्द्रसँग थुप्रै फिल्ममा काम गरिन् । उनले सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, चालबाज, लम्हे, खुदा गवाह र जुदाइ फिल्ममा अभिनय गरिन् । उनले आफ्नो जीवनकालमा पाँचवटा फिल्मफेयर अवार्ड पाएकी छिन् । श्रीदेवीलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

श्रीदेवीले फिल्म निर्माता बोनी कपुरसँग सन् १९९६ मा विवाह गरेकी थिइन् । फिल्म मिस्टर इन्डिया (सन् १९८७) को सुटिङको क्रममा उनीहरुबिच प्रेम झांगिएको थियो । उनका दुई छोरी जान्ह्वी र खुशी छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्