सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इटहरी बलात्कार काण्ड, बलात्कारको मुल्य २५ लाख

अंग्रेजी नयाँ बर्षका दिन इटहरीको तरहराकी एक १४ बर्षिया किशोरीमाथी उनकै प्रेमी र प्रेमीको साथी मिलेर बलत्कार गरेको भन्ने घटनामा परिवारले पैसा लेनदेन गरी घटना सामसुम पार्न खोजेको फेला परेको छ । पिडित किशोरीकी आमाको खातामा अकस्मात धेरै रकम जम्मा भएको पाईएपछी यो रहश्य खुलेको हो ।

बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९/९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।

मितेरी डेभलपमेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमिन किनेको पनि फेला परेको छ । पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलापत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बताएको छ ।

लेनदेनमा परिवारका सीमित सदस्य मात्रै सहभागी थिए । रकम जम्मा गर्ने व्यक्तिको नामको ठाउँमा आफैं लेखिएको छ । घटनालाई सामसुम पार्न पीडितलाई २५ लाख रुपैयाँ दिइएको अभियुक्त मनीष श्रेष्ठले प्रहरीलाई बयान दिएका थिए । श्रेष्ठ र जकब लिम्बू दुवैलाई म्याद थप गरी अनुसन्धानमा राखिएको छ ।

बलत्कार घटनामा संलग्न भनिएका जकव लिम्वु किशोरीका प्रेमी हुन भने मनिष श्रेष्ठ जकज लिम्वुका साथी हुन । मनिष र जकव मिलेर किशोरीमाथी बलत्कार गरेको आरोप छ । घटना मिलाएको आरोपमा सार्वजनिक अपराध मुद्दा दर्ता गराइएका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विक सम्पर्क बाहिर छन ।

वडाध्यक्ष श्रेष्ठले उमेर पुगेपछि विवाह गरिदिने सर्त भएपछि प्रहरीमा आफूखुसी एक–अर्काबाट छुट्टिएको कागजमा जिम्मा लिने क्रमको मात्र आफू साक्षी बसेको बताएका छन । उनले भने–‘मैले कुनै लेनदेनको कागजमा सही गरेको छैन । केटाकेटी छुट्टिएपछि आ–आफ्नो घर जाने राजीखुसीको कागजमा मात्र सही गरेको हो ।’

तरुण दल अध्यक्ष गुरुङले पनि आफूहरूले बलात्कार घटनाका बारेमा कुनै जानकारी नपाएको बताएका छन । उनले भने–‘पीडितका आफन्तले जकबले चेली भगाएको र पछि विवाह गर्ने सर्तमा मिलापत्र गरिएकाले साक्षी बस्न बोलाएपछि म इलाका प्रहरी कार्यालय पुगेको हुँ ।’

घटनामा संलग्न नभएको व्यक्तिलाई प्रहरीले राजनीतिक पूर्वाग्रहमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको उनको दाबी छ । उनले भने–‘राजनीतिमा लागेपछि छिमेकीलाई गाह्रो साह्रो पर्दा जानैपर्छ, त्यही आधारमा फसाउने खेल खेल्नु न्यायसंगत होइन ।’

प्रहरीले भने गुरुङ, श्रेष्ठ र विक तीनैजनालाई बलात्कार जस्तो जघन्य घटना मिलाउन बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै सार्वजनिक अपराधअन्तर्गत माघ २३ गते मुद्दा दर्ता गराएको छ ।

इटहरी उपमहानगरपालिका २० तरहराकी १४ वर्षकी ती बालिकालाई उनका प्रेमी जकब लिम्बूले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते हलगडामा रहेको रोयल रिसोर्टमा लगेर साथी मनीष श्रेष्ठसँग मिलेर बलात्कार गरेको आरोप छ ।

बलात्कार जस्तो जघन्य घटनामा प्रहरीले नै मिलापत्र गराएको भन्दै गृहमन्त्रालयले सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरिसकेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी हरिबहादुर पालले बालिकाकी आमाको नाममा रहेको रकम आफूहरूले ‘होल्ड’ मा राखेको बताएका छन ।

घटनाको अनुसन्धान सकेपछि अदालतबाट नै कसरी पीडितलाई नै उक्त रकम भराउन सकिन्छ भनेर आफूले कानुन व्यवसायीसँग परामर्श गरिरहेको र उक्त रकम पीडितलाई नै भराउन मिल्ने उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्