सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ऋणको बद्ला ९ बर्षमा बिहे, १४ बर्षकि हुँदा आमा

कालो अक्षर नचिनेकै बेला ९ बर्षको उमेरमा छिकेमी गाउँका १२ बर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो । १४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ बर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् ।

आफूले नमाने पनि बाबुआमाका कारण बिहे गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन् । आमाको उपचारको लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बाल बिवाहको मार खेप्नुपर्यो ।

कल्पना भन्छिन–‘म ६ महिनाकी थिएँ । बिरामी आमाको उपचारको लागि छिमेकी गाउँका एक व्यक्तिबाट १५ हजार नगद लिएर छोरी ठूली भएपछि बिहे गरिदिने सर्तमा बाबुले बिक्री गरेका थिए । त्यसकारण मेरो सानैमा बिहा भयो ।’

१८ बर्षमा तीन सन्तानकी आमा बनिसकेकी उनलाई छोरा नजन्माएको भन्दै परिवारले नानाथरिका दुख दिने गरेका छन् । श्रीमान् तेस्रो छोरी जन्मेको भोलिपल्ट भारत गए ।

त्यसयता परिवारले अझै बढी सास्ती दिन थालेको बुगल नगरपालिका ३ की कल्पनाको दुखेसो छ । छोरा नजन्माएकै कारण अहिले उनलाई घरनिकाला गरिएको छ ।

माइतीको सहारामा बस्दै आएकी उनलाई न्याय खोज्न जाने ठाउँबारे थाहा छैन । घरका सबैले ‘किनेर ल्याएको र तेरो आमाको प्राण जोगाएको’ भन्दै कुटपिट गर्ने गरेको उनले बताइन् ।

बालविवाहका कारण सास्ती भोग्ने कल्पना प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै अनिता बोहोराको पनि १२ बर्षको उमेरमा बिहा भयो । १५ बर्षको उमेरमा छोरा जन्मेपछि एक बर्ष नपुग्दै उनको श्रीमान घाँस काट्ने क्रममा भिरबाट लडेर बिते ।

श्रीमानको मृत्युपछि उनको जिन्दगी निकै कष्टकर बनेको छ । उनी भन्छिन–‘१९ बर्षकी भएँ । सँगैका साथीसंगती विद्यालयमा पढ्दैछन, म चाहिँ बिधुवा भएँ । जीवन कसरी काट्ने भन्ने चिन्तामा छु । परिवारसँगै गाउँलेले पोइटोकुवा भनेर हेलाँ गरिरहेका छन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्