सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्त्रिपरिषदले पुर्णता पाउँदै, को–को हुँदैछन त मन्त्री

फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्री भए लगत्तै एमालेबाट २ मन्त्रीलाई सपथ गराए पनि एमाले र माओवादी दुबै पार्टीमा मन्त्री छनोट गर्ने बिषयमा सहमती नहुँदा थप मन्त्रीपरिषद विस्तार गर्न ढिलाई भएको हो ।

श्रोतका अनुसार आज एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन् । माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ ।

माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन् । माओवादीले ती मन्त्रालयमा रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सात मन्त्री पठाउने भएको छ ।

थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टुगो भएको छ । थप एक जनाको नाम भने अँझै टुंगो लागेको छैन । माओवादीका एक नेताका अनुसार आजै सबै मन्त्रीको टुंगो लगाई मन्त्रिपरिषदलाई पुर्णता दिने दुबै पार्टीको तयारी छ ।

एमालेले पनि अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार लगायत बाँकी सात मन्त्रालयमा मन्त्री पठाउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी आज मन्त्री बन्ने भएको छ । त्यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको बताईएको छ ।

हृदयेस त्रिपाठीले गत चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए भने रानाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजू देउवा राणालाई कैलाली ५ मा हराएका थिए । नयाँ मन्त्रीको सपथका लागि आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको बुझिएको छ ।

यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन् । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन ।

मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरूले गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेको भन्दै असन्तुष्टि जनाएका छन् । यस विषयमा पनि एमालेसँग बसेर छलफल गर्ने तयारी भएको माओवादीका नेताले बताएका छन । मन्त्रिपरिषद विस्तार लगायतका बिषयमा छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्