थपिए ४ मन्त्री, अर्थमा युवराज खतिवडा, गृहमा बादल
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा माओवादीकै मातृका यादवलाई शपथ खुवाएकी छिन् ।
आज मन्त्रिपरिषदलाई पुर्णता दिईने भनेको भएपनि दुबै पार्टीमा मन्त्रीको नाम टुंगो नलाग्दा प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री थप गरेका छन । फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।
एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि चार जना मात्रै मन्त्री थपिएका हुन । नवनियुक्त मन्त्रीहरुमध्ये खतिवडा मात्रै सरकारमा नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट मन्त्री भएका दुवै पार्टी विभाजनमा गएर फर्किएका हुन् ।
राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ ।
ईश्वर पोखरेललाई तेस्रोपटक मन्त्री बन्ने अवसर जुरेको छ । पोखरेल प्रधानमन्त्री ओलीपछिको पहिलो वरीयतामा रहनेछन् । यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भएका थिए । बाबुराम भट्टराई सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका पोखरेल सरकारमा दुई सातामात्रै रहेका थिए ।
एमाले महासचिवसमेत रहेका पोखरेल दुइटै संविधानसभामा काठमाडौं– ५ बाट पराजित भएका थिए । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी कांग्रेसका प्रकाशशरण महतलाई हराउँदै काठमाडौं–५ बाटै निर्वाचित भएका हुन् । ०५१ सालमा मनमोहन अधिकारी सरकारमा राजनीतिक सल्लाहकार रहेका पोखरेल दुई कार्यकाल एमाले महासचिव निर्वाचित भएका थिए ।
यस्तै बादल उपनामले चिनिने रामबहादुर थापा माओवादी केन्द्रका पुराना नेता हुन् । गुल्मीमा जन्मिएका थापा पछि चितवन सरेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित थापा तत्कालिन एमाओवादीका महासचिव थिए ।
पार्टी विभाजनमा मोहन वैद्यसँगै गएका थापा ०७२ चैतमा पुन; माओवादी फर्किएका हुन् । थापाको दोस्रो सत्तायात्रा हो । ०६५ सालमा तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थापा ९ महिनामै सरकारबाट उत्रिएका थिए ।
उनी रक्षामन्त्री भएकै बेला तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएपछि प्रधानमन्त्री दाहालले राजीनामा गरेका थिए । गृहमन्त्रीमा पार्टीका नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्माको समेत दाबी रहँदा थापाले बाजी मारेका हुन । प्रतिनिधिसभामा चितवनबाट टिकटको चाहना राखे पनि सम्भव नभएपछि थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको थियो ।
जनयुद्धदेखि नै माओवादी आन्दोलनमा सक्रिय मातृका यादव तेस्रोपटक मन्त्री भएका छन् । उनी यसअघि वन मन्त्री भएका थिए । वन मन्त्री छँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए । सिरहाका यादव पहिलो संविधानसभामा समानुपातिक सांसद भएका थिए ।
नारायणकाजी श्रेष्ठसँग तत्कालिन नेकपा माओवादीको एकीकरण भएपछि असन्तुष्ट नेकपा माओवादीलाई पुर्नगठन गरेका यादव पार्टीको नाम फेर्दै ७ वर्षसम्म अलग्गै रहेका थिए । दुई वर्षअघि पुन; माओवादी केन्द्रमा फर्किएका यादव गएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा–१ बाट निर्वाचित भएका थिए ।
नयाँ सरकारमा सर्वाधिक चर्चित पात्र हुन् युवराज खतिवडा । विगतदेखि नै ओलीका अवैतनिक आर्थिक सल्लाहकार खतिवडालाई अर्थ मन्त्री बनाउन राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । सर्वोच्चको आदेशले उनको शपथ रोकिए पनि अर्थमन्त्री बनाउने ओलीको योजना रोकिएन ।
पार्टीभित्रका शक्तिशाली नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको दाबीका बीच खतिवडा अर्थमन्त्री बनेका छन । प्रधानमन्त्रीको गृहजिल्ला निवासी खतिवडा यसअघि गर्भनर र दुई कार्यकाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्