सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फोरम पनि सरकारमा जाँदै, उपेन्द्र परराष्ट्रमन्त्री

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ । सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा वार्ता गरेका थिए । त्यो वार्तामा फोरमले सरकारमा जान सहमति जनाएको थियो ।

वार्तामा ‘संविधान संशोधन प्रक्रिया आपसी सहमतिमा टुंग्याउने’ सहमति दुई पक्षबीच भएको थियो । फोरमले सरकारमा जानका लागि दुई मन्त्रालय मागेको छ । अध्यक्ष यादवले परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् । सरकारमा जानका लागि फोरम नेपालको पदाधिकारीको बैठक तीनकुनेस्थित कार्यालयमा बसेको छ ।

सरकारमा जाने पक्का भइसके पनि सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग गरिने सम्झौताबारेमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ । ‘फोरम अध्यक्ष यादव सरकारमा जानुहुने भएको छ, उहाँले परराष्ट्र मन्त्रालय सम्हाल्ने निश्चित जस्तै छ’, फोरमका एक नेताले भने, ‘तर, सरकारसँग सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै सरकारमा जान्छौँ, त्यो अर्को चरणमा हुन्छ ।’

फोरमलाई सरकारमा ल्याउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले पहल गरेका थिए । दुईतिहाइ बहुमतको सरकार बनाउने उद्धेश्यका साथ फोरमलाई सरकारमा ल्याउन लागिएको हो । फोरम सरकारमा आएपछि एमाले–माओवादीबीच भएको मन्त्रालयको भागवण्डामा पनि तलमाथि हुने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्