टिकापुर काण्डका नाइके रेशम पुर्पक्षका लागी थुनामा
टीकापुरमा भएको नरसंहारको मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार उपस्थित गराउने गरी अदालतले जेल पठाउने आदेश दिएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार अवस्थामा थिए । उनीमाथि कर्तव्य ज्यान, डाँका, चोरी, ज्यान मार्ने उद्योग गरेको आरोपमा ८ जनाले किटानी जाहेरी दिएका थिए ।
कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेपछि बयान लिइएको थियो ।
कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान लिइएपछि न्यायाधीश परशुराम भट्टराईको इजलासमा उनको बयान लिइएको थियो । न्यायाधीश भट्टराईको इजलासले टीकापुर हत्याकाण्डलाई राजनीतिक मुद्दाका रुपमा हेर्न नहुने पनि ठहर गरेको छ ।
आदेशमा भनिएको छ–‘जनमत प्राप्त गर्नु पूर्वको फौजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’
त्यसैगरी अहिलेसम्म संकलित प्रमाणका आधारमा टीकापुर घटनामा रेशम चौधरीको संलग्ना पाइएको ठहर पनि अदालतले गरेको छ । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो ।
यो घटनामा संलग्न भएको अभियोमा पक्राउ परेकामध्ये २३ जना कैलाली कारागारमा छन् । अन्य दुईजना भने नाबालक भएकाले अभिभावकको जिम्मा लगाइएको थियो ।
२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ । चौधरी टीकापुर घटनापछि भारतमा लुकेर बस्दै आएका थिए ।
भारतमै रहेर राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी साह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी थिइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्