नेपालमा लगानी गर्न चीनलाई सरकारको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हाले लगत्तै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न आमन्त्रण गरेका छन । कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ओली सरकारले चीन सरकारलाई आमन्त्रण गरेको हो ।
नेपालमा बिद्यमान कानून अनुसार हित हुने गरी व्यापार अभिबृद्धि गर्ने रणनीती अनुरुप लगानी भित्र्याउन लागीएको हो । नेपालले व्यापार अभिवृद्धि रणनीतिले पाँच वर्षसम्म मुलुकमा तीव्र रुपमा औद्योगिक विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा व्यापार तथा लगानी ल्याउन सहजीकरण गरिदिन नेपाल र चीनका संगठनलाई आग्रह गर्दै पत्र लेखेको हो । लगानी भित्र्याउन कानुनी प्रावधानलाई सहज र सरल बनाउने कुरा चीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
लगानी गर्न ब्यग्र प्रतिक्षामा रहेका चीनका ब्यवसायीहरुबाट यो प्रस्ताव सँगै सकारात्मक रुपमा अघि सर्ने बताईएको छ । अघिल्लो पटक ओली सरकारको समयमा चीनको लगानी भित्र्याउने रणनीति आएको हो । ओलीले चीन भ्रमणमा गएर पारवाहनसहितका विभिन्न सम्झौता पनि गरेका थिए ।
त्यसपछि ओलीलाई भारत र भारतीय सञ्चारमाध्यमले चीननिकट भन्दै आएका छन् । अर्कातिर नेपालको उत्तर सीमा जोडिएको चीनसँग सहकार्यबिना नेपालको विकास अधुरो रहने विश्वासका साथ नेपालले चीनलाई लगानीका लागि बोलाएको हो । उत्तरी क्षेत्रको जटिल भूगोलबाट सडक र रेल विस्तार गर्न चीनको आर्थिक र प्राविधिक सहयोग अनिवार्य जस्तै छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्