गोवामा नेपाली दम्पती मृत फेला, हत्याको आशंका
भारतको गोवामा व्यवसाय गर्दै आएका नवलपरासी, कावासोती मुलघर भएका दुर्गाप्रसाद महतो (थारु) र उनकी श्रीमती तोफा मृत अवस्थामा भेटिएका छन् । गत शनिबार गोवास्थित आफ्नै डेरामा मृत अवस्थामा भेटिएका उनीहरुको हत्या भएको आशंका गरिएको छ ।
३४ वर्षीय महतोका भाइ राजेन्द्रका अनुसार गत शनिबार गोवामा भेटिएका मृतकबारे परिवारलाई खबर दिइएको थियो । ‘दाइले विवाह गरेको थाहा थिएन, बिस्तृतमा जानकारी खोज्दैछौं,’ राजेन्द्रले भने–‘दिल्लीको नेपाली दूतावासमार्फत शव ल्याउन पहल थाल्नेछौं ।’
१२ वर्षदेखि गोवामा बस्दै आएका दुर्गा स्थानीय बजारमा जुत्ताचप्पल व्यवसाय गर्दै आएका थिए । शव गोवास्थित बीएमसी अस्पतालमा राखिएको छ । दिल्ली दूतावासमार्फत शव फिर्ता ल्याउन नवलपरासीस्थित सुरक्षित आप्रवासन, सूचना तथा परामर्श केन्द्रले पहल थालेको परामर्शदाता रन्जना दाहालले बताएकी छिन् ।
यो प्रकृया अघि बढाउन कावासोती–७ निवासी पर्डी थरुनी र दुर्गाप्रसाद बीचको आमाछोरा नाताको प्रमाणित निस्सासहितका कागजात लिएर राजेन्द्र दिल्ली जाने भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्