विष पिलाएर श्रीमानको हत्या गरी जलाउन खोज्दा
वीरगञ्जमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्न सुपारी दिएको घटना सेलाउन नपाउँदै बाँकेमा श्रीमतीले विष पिलाएर आफ्नै श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरेको भन्दै बाँकेको डुडुवागाउँपालिका–४, गडारियनपुरकी ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई विष पिलाएर हत्या गरेकी हुन् ।
अनुसन्धानका क्रममा उनले सेल्फास नामक विष सर्वतमा घोलेर खुवाएको खुल्न आएको छ । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ । घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताएका छन ।
उनले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेकी छन् । पछिल्लो समय दिनदिनै बलत्कार र हत्याका घटना बढ्दै गएकाले समाज असुरक्षित बन्दै गएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्