विद्यासुन्दर आफै गए जग्गा मिचेका घर भत्काउन
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउने अभियान सुरु गरेको छ । सुरुमा सोमबार महाराजगञ्जस्थित राष्ट्रपति भवन शितल निवास नजिकैको काठमाडौं होटेलले ६ आना सार्वजनिक जग्गा ओगटर बनाइएको भवन भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफैले गल र ३ नम्बर वडाध्यक्ष दिपक केसीले हतौडाले भवनको पर्खालमा हानेर भत्काउने अभियान सुरु गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले अब क्रमश सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना खाली गर्दै जाने बताएका छन ।
मेयर शाक्यले भने–‘यस अभियानमा सर्वसाधारणले पनि साथ दिनुपर्छ । वडा कार्यालयलाई केन्द्रको पूर्ण समर्थन हुनेछ ।’ उनले भत्काउनु पूर्व जग्गा मिचेर बनाइएका सम्बन्धित व्यक्तिलाई सुचना दिइने बताएका छन । उनले भने–‘आफैले भत्काउन अटेर गरेमा महानगरपालिकाले भत्काउनेछ ।’
राजधानीमा सबभन्दा ठुलो समस्या खुला क्षेत्रको अभाव भएको मेयर शाक्यले बताएका छन । उनले सार्वजनिक जग्गामा संरचना बनाउने प्रवृति अन्त्य गर्ने बताएका छन । उनले भने–‘खुला क्षेत्रमा युवाहरुलाई खेलकुद मैदान र बालबालिकालाई चिल्ड्रेन पार्क बनाइनेछ ।’
काठमाण्डौ होटलले मिचेर बनाएको जग्गामा मल्टी परपोज विल्डिङ बनाउने महानगरपालिकाको योजना छ । महानगरपालिकाका अधिकारीहरुका अनुसार भवनमा युवाहरुलाई लक्षित गरि बिहान योगा र व्यायाम गर्न मिल्ने, दिउँसो ज्येष्ठ नागरिक आश्रम र साँझ बालिबालिकालाई हुने गरि संग्रहालय र पुस्तकालय बनाइनेछ ।
काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दिपक केसीले काठमाडौं होटेलका सञ्चालकलाई भत्काउन पटक पटक लिखित तथा मौखिक जानकारी गराएको बताएका छन । ‘तर, अटेर गरेपछि महानगरपालिका आफैले भत्काउन सुरु गरेका हो,’ उनले भने, ‘अन्य सार्वजनिक जग्गा मिचेर बनाइएका व्यक्तिहरु सहमतिमा आएमा क्षतिपूर्तिसमेत दिन तयार छौं । नत्र एक्सनमा जान बाध्य हुनेछ ।’
महानगरपालिकाका अधिकारीहरुका अनुसार भत्काइएको उक्त जग्गा चलनचल्तिको मूल्य अनुसार प्रति आना एक करोड रुपैया पर्छ । उनीहरुका अनुसार विश्व हिन्दु महासंघले बाँसबारीमा २२ रोपनी, गाइत्री समाजले ४२ आना र अन्यले १६ रोपनी सार्वजनिक जग्गा मिचेको छ । यी बाहेक ३ नम्बरमा मात्रै ३० रोपनी सार्वजनिक जग्गा मिचेर संरचना बनाइएको वडाध्यक्ष केसीले बताएका छन ।
रानीबारीको लथालिंग अवस्थामा रहेको एक सय ३६ रोपनी जग्गामा पनि व्यवस्थित पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । ‘पार्क बनाउन चालु आवमा दुई करोड रुपैयाँ बजेट विनियोजित छ,’ वडाध्यक्ष केसीको भने, ‘पहिलो चरणको काम सम्पन्न भएर दोस्रो सुरु भइरहेको छ ।’ पार्क निर्माणसँगै रानीबारीमा लागु पर्दाथ दुव्र्यसनी र यौनजन्य क्रियाकलाप ठप्प हुने महानगरपालिकाको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्