सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्थमन्त्री लगायत मनोनित ३ सांसदको सपथ फुकुवा

देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभामा मनोनित गरेको निर्णयलाई उल्ट्याएर ओली सरकारले मनोनित गरेका तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खुला भएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् ।

अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् । शेरबहादुर देउवा सरकारका पालामा राष्ट्रियसभाका लागि मन्त्रिपरिषदबाट सिफारिस गरिएका तीनजना सांसदको नाम केपी ओली नेतृत्वको सरकारले फिर्ता लिएको थियो ।

नाम फिर्तापछि ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । सिफारिस लगत्तै राष्ट्रपतिले उनीहरुलाई सांसदमा मनोनित गरेकी थिइन् ।

देउवा सरकारको सिफारिसलाई उल्ट्याएर ओली सरकारले आफ्ना मान्छेलाई राष्ट्रियसभाको सांसद बनाएपछि राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै गोपालकुमार बस्नेतसमेतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले तीनैजनालाई सपथ ग्रहण नगर्न नगराउन आदेश दिएका थिए । अदालतको सोही आदेशका कारण फागुन २० गते तीनैजना सांसदको सपथ ग्रहण रोकिएको थियो ।

सोही अन्तरिम आदेशका विषयमा निरन्तरता दिने या नदिने भन्नेबारे बुधबार न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको बेञ्चमा छलफल भएको थियो । छलफलपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएको थियो ।

देउवा सरकारले गरेको सिफारिस राष्ट्रपतिले फिर्ता गरेको नभई मन्त्रिपरिषदले नै फिर्ता लिएको हुँदा यसमा राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्न नमिल्ने अदालतको निर्णयमा उल्लेख छ । सर्वोच्च अदालतले यो प्रकरणलाई संयुक्त इजलासबाट संवैधानिक इजलासमा सार्ने निर्णयसमेत गरेको छ ।

रिट निवेदनमा उठाइएका संवैधानिक एवं कानूनी प्रश्नहरु संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भन्दै अदालतले यसलाई अग्राधिकार दिई संवैधानिक इजलासमा पठाउनू भनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्