प्रधानमन्त्री ओलीलाई विश्वासको मत, तिन चौथाई पक्षमा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ बढी सांसदको विश्वास मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संसदमा तीन चौथाई सांसदबाट विश्वासको मत पाएका हुन ।
संसद बैठकमा विश्वासको मत माग्ने क्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाँचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखेका थिए । सम्बोधनका क्रममा अधिकांश दलले समर्थन गरे पनि कांग्रेसले प्रतिपक्षमा बस्ने धारणा राखेको थियो ।
प्रतिनिधि सभामा भएको विश्वासको मतदानमा प्रधानमन्त्री ओलीले २०८ मत पाएका छन् । सत्तारुढ एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपासहित केही साना दलले ओलीका पक्षमा मत दिएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएका थिएनन । नयाँ शक्ति पार्टीका सांसद डा. बाबुराम भट्टराई भने संसद बैठकमा उपस्थित नै थिएनन् । बैठकमा २६८ सांसद उपस्थित थिए ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विपक्षी सांसदहरुले दुई तिहाइ बहुमत दुरुपयोग गर्ने आशंका गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिंदै भने, ‘मैले दुई तिहाइ मात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्