सहकर्मीको व्यवसाय फस्टाएपछी अपहरण गरी हत्या
आफ्नो भन्दा व्यवसाय फस्टाएपछी विर्तामोडका सुन व्यवसायी पारस कुमार देवले अर्का सुन व्यवसायी साजन मुखियाको अपहरणपछि हत्या गरेको खुल्न आएको छ । साजनको हत्यामा बिर्तामोड–३, सैनिकमोड बस्ने २९ वर्षीय पारस कुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीको संलग्नता देखिएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार पछिल्लो केही समययता मुखियाले सुनचाँदी व्यवसायबाट अकूत सम्पत्ति जोडेका थिए । तर, पारसकुमार देवको ऋद्धिसिद्धी ज्वेलर्सको कारोबार केही समय यता ओरालो लागेको थियो । हत्यारा पारसले आफ्नो व्यापारमा आएको गिरावटको मुख्य कारक साजनलाई ठानेका थिए ।
साजनको हत्या गर्दा निजको कारोबार समेत आफूले गर्न पाउने योजनाका साथ उनको हत्या भएको खुल्न आएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन । देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय साजन मुखिया २० गते दिउँसोबाट वेपत्ता भएका थिए । उनको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको थियो ।
पारसले आफ्नो पसलमा काम गर्ने प्रकाश भन्ने चिरन्जिबी ओली र दिपेश पौडेल लगायतलाई पैसा दिएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २० गते दिउँसो पारसको समूहले सुन किन्ने बहानामा साजनलाई बिर्तामोडस्थित एभरेष्ट बैंक नजिक बोलाएका थिए ।
त्यहाँबाट उनीहरुले साजनलाई अपहरण गरेर तमुटोलस्थित पारसको घरमा लगेर बन्धक बनाएको खुल्न आएको छ । त्यहीँ साजनमाथि कुटपिट गरी प्लास्टिकको डोरीले दुबै हात र घाँटीमा बाँधेर हत्या गरेको खुलेको छ । हत्यापछि उनको शवलाई जुटको बोरामा हालर मेची सडकखण्ड अन्तर्गतम इलामको रोङ नगरपालिका ३ कोल्बुङ, अर्यालचोक नजिक रहेको ठाडो भिरमा लगेर लडाएको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानका क्रममा अपहरणमा पर्नुअघि पारस र चिरञ्जीवीले नयाँ नम्बरबाट पटकपटक सम्वाद गरेको पाईएपछि उनीहरुतिरै अनुसन्धान सोझिएको थियो । प्रहरीले पारस, दिपेश र चिरञ्जिवीमाथि मानव अपहरण तथा शरिर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान थालेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्