कसरी बाहिरियो टावर र पाईलटको संवादको अडियो ?
सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको युएस बंगलाका पाईलट र एयर ट्राफिक कन्ट्रोलर (एटीसी)बीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ ।
‘यो गम्भीर विषय हो । पाइलट र एटीसीको संवाद सार्वजनिक गर्न मिल्दैन,’ महानिर्देशक गौतमले भने, ‘हामीले यो अडियो सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि भनिसकेका छौं ।’
गौतमले यस्तो अडियो आवश्यक परेमा सुन्न सक्ने अधिकार प्राधिकरणका महानिर्देशक र दुर्घटना भएमा जाँचबुझ आयोगलाई मात्रै हुने बताएका छन । यही अडियो सुनेर यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी (सीईओ) इमरान असिफले विमान दुर्घटनामा पर्नुमा नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएका छन ।
https://www.youtube.com/watch?v=0MVXNow8sKU
यसबारे प्राधिकरणका महानिर्देशक गौतमले एयरलाइन्सका सीईओको भनाइ आधारहीन भन्दै खण्डन गरेका छन । ‘सीईओको भनाइमा आधार छैन । जे मन लाग्यो त्यो भन्न पाइँदैन । हामीले पनि पाइलटको गल्ती भनेका छैनौं । दुर्घटना हुँदा देखिएको अवस्थाबारे मात्रै अभिव्यक्ति दिएका हौं,’ गौतमले भने, ‘यो विशुद्ध प्राविधिक कुरा हो । आयोगको अनुसन्धानपछि मात्रै खास कुरा भन्न सकिने छ ।’
पूर्वाधार र उपकरण अभावले यो दुर्घटना नभएको प्राधिकरणले उल्लेख गरेको छ । ‘यात्रु र उडानको चापअनुसार पूर्वाधारको आवश्यकता महसुस भएको पक्कै हो तर, सोमबारको दुर्घटनासँग यसको सम्बन्ध गाँसिएको छैन,’ गौतमले पत्रकार सम्मेलनमा भनेका छन । बंगलादेशको राजधानी ढाँकाबाट ६७ यात्रु तथा चालक दलका ४ सदस्यसहित आएको विमान अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
प्राधिकरणले दुर्घटनामा ४९ को मृत्यु भएको जनाएको छ । तर गृह मन्त्रालयले मृतकको संख्या ५१ पुगेको दाबी गरेको छ । बंगलादेशी सञ्चारमाध्यमले चालक दलका क्याप्टेन अविद सुल्तानको मृत्यु नभएको दाबी गर्दै आएका छन । तर प्राधिकरणका महानिर्देशक गौतमले यो दुर्घटनामा चालक दलका सबै सदस्यको मृत्यु भइसकेको जनाएको छ ।
विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक तथा चालक दलका चार जना थिए । सबै शव शिक्षण अस्पतालमा राखिएका छन । घाईते २२ जनाको काठमाण्डौका बिभिन्न ६ ओटा अस्पतालमा उपचार भईरहेको गुहमन्त्रालयले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्