न्यायपरिषद सचिवले गरे प्रधानन्यायाधीशलाई पदमुक्त
न्याय परिषद सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको भन्दै उनलाई नै चिठ्ठी पठाएका छन् । त्यसको बोधार्थ राष्ट्रपति कार्यालय, संवैधानिक परिषद, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतलाई गराएका छन् ।
न्यायपरिषद्को सचिव स्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुलीको अवकाश भइसकेको निर्णय गर्दै जानकारी पत्रमार्फत गराइएको हो । पत्रमा प्रधाननन्यायाधीश पराजुली गत साउन २१ गते नै ६५ वर्षको उमेर हद पार गरिसकेको जानकारी गराउँदै उनी अब पदमा नरहेको भनिएको छ ।
चिठीमा लेखिएको छ–‘सम्माननीय महोदयको यस न्यायपरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐन को दफा ३१ को उपदफा ७ बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पूरा भइसकेको देखिन आएकोले आजको सचिवस्तरीय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु ।’
उनले पराजुलीलाई निवृत्त जीवन सुखमय रहोस भन्ने कामना पनि गरेका छन् । पत्रमा उनले लेखेका छन–‘सम्माननीय महोदयले न्याय क्षेत्रमा पुर्याउनुभएको योगदान प्रति हार्दीक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस भन्ने कामना गर्दछु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्