आजबाट २० बर्ष पुराना गाडी बन्द, गुडाए कवाडीमा
सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधन गुडाउन पुर्ण रुपमा प्रतिवन्ध लगाएको छ । यदि सरकारको यो आदेशलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन ।
देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो । हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान रहेको छ ।
विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।
विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० को हाराहारीमा रहेको अनुमान गरिएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्