पपुवान्यूगिनीलाई हराउँदै नेपाल एकदिवसीय नजिक
दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ । पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।
पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताएका थिए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् । नेपालको सुरुवात भने राम्रो भएको थिएन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार साह ९ रनमा नै आउट भएका थिए ।
थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भएका थिए । तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । शेख व्यक्तिगत २६ रनमा आउट भएका थिए । ऐरी ५० रनमा अविजित रहेका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने सन्दिप लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।
नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४–४ विकेट लिएका थिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका थिए । पपुवा न्यूगिनीले ओडीआई स्टाटस गुमाएको छ ।
हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । नेपाल भने नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ । तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्