जंगलमा गाडेको किशोरीको शव कुकुरले भेटायो
मध्ये क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको तालिम प्राप्त कुकुरले पर्सा राष्ट्रिय निकुञ्जको मध्य जंगलभित्र गाडिएको १५ वर्षीय किशोरीको शव भेट्टाएको छ । जिराभावनी गाउँपालिका–१, गम्हरियाका ४५ वर्षीय बुधन धाँगडकी छोरी १५ वर्षीय भुट्टी भनिने निदुवा धाँगडको शव कुकुरले भेट्टाएको हो ।
उनी एक साताअघि दाउरा लिन भन्दै पर्सा राष्ट्रिय निकुञ्जभित्र छिरेकी थिइन् । बिहीबार जंगलमा किशोरीको शव गाडिएको सूचना पाएलगत्तै जिल्लाको अपराध अनुसन्धान र ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेत नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
बिहिबार साँझ परिसकेकाले प्रहरी टोली शव उत्खनन् नगरी फर्किएको थियो । भोलिपल्ट कुकरले शव भेट्टाएको थियो । शव उत्खनन् गर्ने वित्तिकै पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज लगिएको छ ।
किशोरी जंगलमा हराउँदा यस्तो थियो घटना
स्थानीय गाउँलेका अनुसार किशोरी फागुन २२ मा दाउरा खोज्न साथीहरुसँग जंगलमा गएकी थिइन् । तर, जंगलबाट साथीहरु मात्रै फर्किएका थिए । किशोरी नआएपछि स्थानीयले एक जनालाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । नभन्दै जंगलभित्र शव भेटिएको थियो ।
शव भेटिएको स्थलको दुई किलोमिटरको क्षेत्रमा डोरी झुण्ड्याइएको समेत भेटिएको छ । परिवारका सदस्यले भने किशोरीले जंगलभित्रै आत्महत्या गरेकाले गाडेर फर्किएको दाबी गरेका छन् ।
प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान सुरू गरेको छ । ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार किशोरीका बुबा बुधनसहित शव गाड्न सहयोग गर्ने मुनीलाल धाँगड र सँगै दाउरा लिन जाने ३ जना महिला पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीको हत्या गरेर जंगलमा गाडिएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । आर्मीको नियन्त्रणमा रहेको जंगलको मध्य क्षेत्रमा किशोरी कसरी पुगिन् भन्ने विषय रहस्यकै गर्वमा छ ।
किनकी, राष्ट्रिय निकुञ्जको कोर एरियामा स्थानीयलाई प्रवेश निषेध हुन्छ । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै विस्तारै थप कुरा खुल्दै जाने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्