सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तेस्रोपटक मन्त्रिपरिषद विस्तार, को–को भए त मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेश्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । सत्ता साझेदार दल एमाले र माओवादीका मन्त्रीहरुले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएका हुन् ।

मन्त्रीहरुमा एमालेको तर्फबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन् ।

विस्तारीत मन्त्रिपरिषदमा एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री भएका छन । गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री बनेका छन भने रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री बनेका छन ।

त्यस्तै रघुविर महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका छन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शेर बहादुर तामाङको काँधमा गएको छ भने जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन ।

माओवादीका तर्फबाट वर्षमान पुन उर्जा तथा जलस्रोत र सिचाई मन्त्री बनेका छन भने गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बनेका छन । शक्ति बहादुर बस्नेत वन मन्त्री भएका छन भने चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री, भएका छन । त्यसैगरी विना मगर खानेपानी मन्त्री भएकी छिन ।

त्यसैगरी राज्यमन्त्रीतर्फ गोकुल बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका छन भने पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी बनेकी छिन भने धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन राज्यमन्त्री बनेका छन ।

अन्तिम समयमा आएर संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल भने सरकारमा सहभागी भएका छैनन् । दुवै दललाई सरकारमा सहभागी बनाउन बामगठबन्धनका नेताहरुले प्रयास गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले एमाले र माओवादीको तर्फबाट दुईपटक गरेर सात जनाको मन्त्रिपरिषद विस्तार गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्